संस्कृति संरक्षण गर्न पुख्र्यौली नाच प्रतियोगिता (फोटो फिचर)

म्याग्दी- म्याग्दीमा मगर समुदायको मौलिक संस्कृतिलाई संरक्षण गर्न पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको आयोजनले जनाएको छ ।


भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ को वडा कार्यालयले भुरुङ गाउँमा आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख, दोस्रो हुनेलाई नगरु ७५ हजार र तृतीय हुनेलाई नगद रु ६० हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका मुल संयोजक समेत रहनुभएका वडा अध्यक्ष ओम प्रसाद फगामीले जानकारी दिनुभयो ।


उहाँका अनुसार, प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइ मार्ने समूह, भाका तथा शब्द छनौट, पोशाक, अनुशासनको विद्यामा समेत नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।

पुख्र्यौली नाच पुन मगर समुदायमा पुर्खौदेखि चलिआएको पाइन्छ, पछिल्लो समय यो नाच युवा पुस्ताले अगाडी बढाउन नसक्दा हराएर जाने जोखिम बढेको थियो फगामीले भन्नुभयो,– ‘नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने माध्ययमका रुपमा हामीले यो प्रतियोगिता अघि बढाएईएको हो, यसले मगर समुदायमा लोप हुन लागेको आफ्नो संस्कृति संरक्षण हुने विश्वास लिएका छौँ ।’

प्रतियोगितामा सहभागि पुख्र्यौली नाचहरुमा अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, आमा समूह, युवायुवति, बालबालिका र बृद्धबृद्धा समेतले सहभागिता जनाएका छन् । विहिबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितालाई सफल बनाउन अन्नपूर्ण गाउँपालिकाले रु ३ लाख सहयोग गरेको छ । त्यसैगरि स्वदेश तथा विदेशमा रहेका भुरुङतातोपानीबासीको नेतृत्वमा प्रतियोगिता सम्पन्न गर्न रु १९ लाख बढी सहयोग जुटेको आयोजकले जनाएको छ ।


अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली प्रतियोगिताले भुरुङ गाउँमा साँस्कृतिक उत्सव छाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मगर समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको पुख्र्यौली नाच अन्तरपुस्ता हस्तान्तरणको लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.