‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’: सुनिता केजरीवाल

दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बीच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री केजरीवालको पक्षमा समर्थन जुटाउन आम आदमी पार्टी (आप), विपक्षी दलहरूको गठबन्धन (इन्डिया) र उसका साझेदारहरूको शक्ति प्रदर्शनमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सुनिताले भन्नुभयो, “केजरीवाल देशभरका करोडौं जनताको हृदयमा बसिसकेकोले संघीय सरकारले उहाँलाई लामो समयसम्म हिरासतमा राख्न सक्दैन ।”

दिल्लीका मुख्यमन्त्री हाल मदिरा नीतिसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशालय (इडी) को हिरासतमा हुनुहुन्छ । उक्त मुद्दा अनुसन्धानका लागि उहाँलाई आज सोमबारसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उहाँले भन्नुभयो, “केजरीवालले जुन दृढ सङ्कल्प र साहसका साथ लड्नुभएको छ यसले भारतीय स्वतन्त्रताका लागि सङ्घर्षका क्रममा अन्तिम बलिदान दिएका स्वतन्त्रता सेनानीहरूको सम्झना गराउँछ ।”

सभालाई सम्बोधन गर्दै उहाँले आगामी लोकसभा चुनावमा सत्तामा आएमा विपक्षी गठबन्धनले पूरा गर्ने बताएका छ वटा वाचा पढेर सुनाउनुभएको थियो ।

विपक्षी गठबन्धनले देशभर २४ सै घण्टा बिजुली आपूर्ति, गरिबका लागि निःशुल्क विद्युत सेवा, प्रत्येक इलाका-गाउँमा राम्रो सरकारी विद्यालय, स्वामीनाथन आयोगको प्रतिवेदन अनुसार किसानहरूको सहयोगका लागि लागि न्यूनतम समर्थन मूल्य र दिल्लीलाई पूर्ण राज्यको दर्जा प्रदान गर्नु समावेश छ । केजरीवाललाई ईडीले २१ मार्चमा मदिराको अन्तः शुल्क नीतिसम्बन्धि मुद्दामा घण्टौँ लामो सोधपुछपछि गिरफ्तार गरेको थियो ।

आइतबार सबै प्रमुख विपक्षी नेताहरू रामलीला मैदानमा मञ्चमा भेला भएर केजरीवालको गिरफ्तारीको विरोध गरेका थिए ।

महार्‍यालीलाई सम्बोधन गर्दै आम आदमी पार्टीका वरिष्ठ नेता तथा दिल्लीका मन्त्री गोपाल रायले वर्तमान् मुख्यमन्त्री केजरीवाललाई मदिरा नीति प्रकरणमा पक्राउ गर्नुपर्ने कारणबारे प्रश्न उठाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.