हिमाली जिल्ला ताप्लेजुङमा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तक बिक्रि सुरु

ताप्लेजुङ- हिमाली जिल्ला ताप्लेजुङमा नयाँ शैक्षिक सत्र २०८१ को सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्रि सुरु भएको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक जिल्लामा ल्याएसँगै बिक्रि वितरण सुरु भएको हो ।

यसवर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक ताप्लेजुङमा विक्रि वितरण सुरु भएको छ । सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका २२ हजार सेट पाठ्यपुस्तक र नेपाली माध्यमको प्रतिकक्षा एक हजार ५०० का दरले १५ हजार सेट पाठ्यपुस्तक छन् ।

यस्तै कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमको तीन हजार ५०० सेट र लिम्बू भाषाको आनिपान पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार ५०० सेट नै आइपुगेको छ । जिल्लामा पाठ्यपुस्तक आइपुगेसँगै बिक्री वितरण सुरु भएको छ ।

यस वर्ष सबै कक्षाको कुनै पनि विषय नछुटी पूरै सेट उपलब्ध रहेको बताईएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याएको हो ।

यसवर्ष पनि पाठ्यपुस्तकको पुरानै मूल्य कायम रहेको महासङ्घले जनाएको छ । यता समयमै सामुदायिक विद्यालयका पाठ्यपुस्तक आएपछि विद्यार्थी, शिक्षक तथा अभिभावक हर्षित भएका छन् ।

ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार ३३० सामुदायिक विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका छन् । बाँकी १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका छन् ।

उक्त सङ्ख्यामा रहेका सामुदायिक विद्यालयमा करिव २० हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.