कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुन्छ: संचारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारको पक्षमा समेट्नुपर्ने विषयबारे सुझाव सङ्कलन गरेको छ ।

मन्त्रालयले आगामी बजेट र  १६ औं राष्ट्रिय योजनामा आम सञ्चार क्षेत्रमा राख्ने विषयवस्तुमा छलफल गर्न काठमाडौँमा आयोजित कार्यक्रममा पत्रकार, बुद्धिजीवी र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग सुझाव लिएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चारले समाजको अवधारणा निर्माण गर्न भूमिका निर्वाह गर्ने हुँदा आगामी नीति तथा कार्यक्रम एवं बजेटमा सञ्चार क्षेत्रको भावना समेट्न जरुरी रहेको बताउनुभयो ।

सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने मन्त्री शर्माको भनाइ छ ।  मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले जानकारी दिनुभयो। आमसञ्चारलाई नीतिगतरुपमा बलियो बनाउन सुझाव लिइएको बताउदै सुझावले नीति बनाउन मार्गनिर्देश गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य बीमा, समानुपातिक विज्ञापन विरतण, तालिम र वृत्तिविकासका लागि बजेटमा निश्चित रकम तोकिनुपर्ने जोड दिनुभयो ।

नेपाल टेलिभिजिनका महाप्रबन्धक फुलमान बल तामाङले नेपाल टेलिभिजनको पहुँच विस्तार गर्ने विषयलाई वजेटमै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई बहुभाषामा लैजाने जानकारी दिंदै त्यसका लागि बजेटको व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु किशोर नेपाल, शिव गाउँले र महेन्द्र विष्टले आमसञ्चार प्रतिष्ठान नीति समय सापेक्ष बनाउनुपर्ने बताउनुभयो । यसैगरी फोनिजका अध्यक्ष गजुरधन राई , मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले मातृभाषा पत्रकारितालाई प्रोत्साहित गर्दै समावेसीको मर्म अनुरुप संचार क्षेत्रमा सहभागीता र पहुँच वृद्धि गर्नु पर्ने सुझाव दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.