धादिङमा यस वर्षको ‘हनी हन्टिङ’ मेला सुरु (फोटो फिचर)

धादिङ- साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकास्थित वडा नम्वर-२ ताप्राङ खोलामा पर्ने तेम्बाह्यारा महभिरमा यस वर्षको ‘हनी हन्टिङ’ मेला सुरु भएको छ ।

वार्षिक दुई पटक सञ्चालन गरिने हनी हन्टिङ यस वर्षको पहिलो सिजनका लागी बिहिबारदेखि सुरु गरिएको हो । भिरमौरीको मह निकाल्ने मेला एक हप्ता लाग्नेछ ।

गंगाजमुना गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी यस वर्षदेखी भने हनी हन्टीङलाई उत्सवकै रुपमा नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा ताप्राङ खोलास्थित तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो ।

तामाङ भाषामा तेम्बाको अर्थ भिर ‘ह्यारा’को अर्थ भिरमौरी बस्ने ठाँउ भन्ने बुझिन्छ । विगत लामो समयदेखि भिरमौरीको मह निकाल्ने चलन रहेकोमा यस वर्षदेखी भने यसलाई पर्यटनसँग जोडेर गांगा जमुना गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागी विषेश कार्य योजनासहित काम अगाडि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार भिरबाट मह निकाल्नका लागी आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दैआएको पनि बताउनु भएको छ ।

“साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भिरमौरीको महबाहेक क्यानोनिङकोसमेतको सम्भावना भएको बताउँदै सोको पनि गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

गंगाजमुना गाउँपालीकाको वडानम्वर २ का वडाध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महाभिरमा रहेको भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताउनुभयो ।

उक्त महाभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उहाँको भनाइ छ । हाल ‘री’ गाउँका ६ युवाले दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् ।

यसरी निकालिएको मह प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री गरिँदै आएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

उक्त महाभिर गङ्गाजमुना-२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ । महभिरमा कात्तिक र वैशाखमा यहाँका स्थानीयले भिरमौरीको मह निकाली र संकलन गरिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.