नारायणगढ-बुटवल सडक विस्तार सुस्त: म्याद सकिन लाग्दा आधा मात्रै काम सकियो

पश्चिम नवलपरासी- पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको दोस्रो पटक थपिएको म्याद सकिन डेढ महिना बाँकि छँदा सडक विस्तारले अझै गति लिन सकेको छैन् ।

तुलनात्मक रुपमा विगतको भन्दा केहि छिटो काम भएपनि म्याद सकिने अवधि सम्म ७० प्रतिशत बढि काम सक्ने बताएको ठेकेदारले हालसम्म जम्मा ५० प्रतिशत काम सकेको छ ।

आयोजनाका दाउन्ने पश्चिम खण्डका योजना प्रमुख शशांक मिश्रले हालसम्म ५०.६२ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । पछिल्लो पटक थपिएको म्याद सकिंदासम्म ५५ प्रतिशत बढि काम हुने आँकलन गरिएको छ ।

गत वर्षनै वर्षायाम अगावै सक्ने भनिएको ठुला तथा साना पुलको काम अझै सकिएको छैन् । पश्चिम खण्डमा पर्ने ९ ओटा ठुला पुलमध्ये ५ ओटा सकिएको छ भने एउटाको काम नै सुरु भएको छैन् । बाँकी तीन ओटा निर्माणको चरणमा छ ।

वर्षायाममा पुल निर्माण सम्पन्न नभए डाईभर्सन बगाएर पटक पटक सडक अवरुद्ध हुने समस्या हुने भएकाले ठेकेदारलाई पुलको काम छिटो सक्न ताकेता गरिएको आयोजनाको भनाई छ, तर वर्षायाम अगावै काम सकिनेमा शंका छ ।

यसैगरी साना ३८ ओटा पुल मध्ये ३३ ओटा पुल निर्माण सम्पन्न भएको छ भने दुई ओटा निर्माणको चरणमा छ, तिन ओटा साना पुलको कामनै अझै सुरु भएको छैन् । १ सय ९५ ओटा कल्भर्टमध्ये २ सय ६३ वटाको निर्माण सकिएको छ भने २८ वटाको काम भईरहेको योजना प्रमुख मिश्रले बताउनुभयो ।

हालसम्म पश्चिम खण्डमा एकातर्फ दुई लेनमा साढे २८ किलोमिटर कालोपत्र भएको छ भने दुवैतर्फ कालोपत्र भएको दुरी ११ किलोमिटर मात्रै छ । जीर्ण सडक समयमै कालोपत्र नहुँदा धुलोका कारण सडकनै नदेखिने समस्या छ ।

दाउन्ने क्षेत्रमा सडक विस्तारको काममा ढिलाई हुदा यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । वर्षायाम नजिकिदै गर्दा दाउन्ने खण्डमा जम्मा एक किलोमिटर मात्र सडक पिच भएको छ । थप दुई किलोमिटर वर्षायाम अगावै सक्ने ठेकेदारले प्रतिवद्धता जनाएपनि त्यतिले मात्रै दाउन्नेको सकस टर्ने छैन ।

दाउन्ने अहिले पनि बाक्लो धुलोका कारण दिउँसै लाईट बालेर हिड्नुपर्ने र सडक तथा सवारी साधननै नदेखिने समस्या छ । अझ पानी पर्ने वित्तिकै सडकमा गाडी फस्ने र चिप्लने समस्या भएपनि समाधानका लागी ठेकेदार गम्भिर देखिएको छैन् ।

दाउन्ने खण्डमा निर्माण गनुपर्ने चार ओटा साना पुल मध्ये दुई ओटा निर्माणको चरणमा छ भने बाँकि दुई ओटाको कामनै सुरु भएको छैन । यस वर्ष दाउन्नेमा वर्षायाम अगावै उपयुक्त समाधान नखोजे ठुलो सास्ती खेप्नुपर्ने अवस्था भएपनि सम्बन्धित निकायले कछुवाको गतिमा काम गरिरहेको भन्दै यात्रुले असन्तुष्टि पोख्दै आएका छन् । दाउन्ने पुर्वि खण्डमा पनि हाल सम्म ५० प्रतिशत नै काम सम्पन्न भएको छ ।

२०७५ पुस ५ मा सुरु ठेक्काअनुसार २०७९ साउन २२ भित्रै नारायणगढ–बुटवल सडक विस्तारको काम सकिसक्नुपर्ने भएपछि थप म्याद दिनुपर्ने निश्चित छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा थालिएको सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ ।

यो सडकमा विस्तारको काम थालेदेखि नै यात्रुले सास्ती खेपिरहेका छन । काममा प्रगति नहुँदा आयोजनाले २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । ठेकेदार कम्पनीले काम अघि बढाएन, बरु ढाँटिरह्यो । काममा प्रगति नभए पनि दोस्रो पटक २०८१ असार सम्मका लागि म्याद थपियो ।

सम्झौताअनुसार दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । निर्माण कम्पनीले भने ०८२ मंसिरसम्मका लागि परामर्शदातामार्फत म्याद थप मागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.