एकीकृत समाजवादी स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले ती चारवटा प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालसहित २७ जना नेताले सुझावसहित धारणा राख्नुभएको थियो ।

अध्यक्ष नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले साङ्गठानिक प्रतिवेदन, उपाध्यक्ष डा वेदुराम भुसालले विधान संशोधन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावका आधारमा त्यसलाई पूर्णता दिइने बताइएको छ ।

स्थायी कमिटीका निर्णयलाई आज दिउँसो बस्ने पोलिटब्यूरो बैठकमा थप छलफल गरिनेछ । उक्त बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने कार्यसूची अनुमोदन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.