पोखरामा घर-घरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा

कास्की- पोखरा महानगरपालिकाले जेष्ठ नागरिकलाई उहाँहरुको घरमै पुगेर स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । जसअन्तर्गत पहिलो चरणमा पोखरा २५ हेमजा क्षेत्रमा हिजोदेखि यो सेवा सुरु गरिएकोमा त्यसको प्रभावकारीताका आधारमा अन्य वडाहरुमा पनि क्रमश सेवा विस्तार गर्ने योजना महानगरको रहेको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

महानगरले यस कार्यक्रमलाई वडा नागरिक आरोग्य कार्यक्रम भनेको छ । जसअन्तर्गत ७० वर्ष माथिका तथा जुनसुकै उमेर समूहका दीर्घ रोगी नागरिकको घरमै पुगी रक्तचाप, नाडीको चाल, स्वासप्रश्वास, जण्डिस, अक्सिजनको मात्रा, मधुमेह, तौल लगायत जाँच गरिने छ । त्यसका साथै उहाँहरुले खाइरहेको औषधी, नियमित खानपान पनि ठीक छ की छैन भनेर पनि परीक्षण हुने छ ।

त्यस्तै जेष्ठ नागरिकलाई नसर्ने रोगहरुका बारेमा जानकारी, त्यसका प्रमुख कारक तत्व, जीवनशैली सुधारमा ऐक्यबद्धता, पारिवारिक तथा सामाजिक समर्थनका लागि परामर्श पनि प्रदान गरिने पोखरा महानगर प्रवक्ता समेत रहनुभएका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले जानकारी दिनुभयो ।

सेवा दिन महानगरपालिकाले वडागत रुपमा जेष्ठ नागरिक तथा दीर्घ रोगीको सर्वेक्षण गरेको छ । पहिलो चरणमा सेवा दिइएका वडामा नियमित परीक्षण गर्ने र कतिपय अवस्थामा घुम्ती शिविर संचालन गर्ने सोच पनि महानगरपालिकाको छ ।

हेमजामा जेष्ठ नागरिक र दीर्घ रोगीको संख्या कुल ४ सय ८५ छ भने समग्र पोखरा महानगर क्षेत्रमा करिव २२ हजार पाँच सय रहेको अनुमान् छ । यस कार्यक्रमलाई महानगरपालिकाले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण फड्को समेत भनेको छ । कार्यक्रम अन्तर्गत आइतवार पहिलो दिन कुल ७१ जनाले सेवा पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.