नेका पदाधिकारी बैठकः संसदमा जारी अवरोध कायमै राख्ने निर्णय

काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको बटमलाईन रहेकाले संसदीय समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निर्णय भएको बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिनुभयो ।

उहाँले समिति नबनेसम्म सरकारको नीति तथा कार्यक्रम वा अरू जे भए पनि संसद् अगाडि बढ्न नदिने बताउनुभयो । प्रवक्ता महतले यसबारे मंगलबार बस्ने पार्टीको संसदीय दलको बैठकले थप निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रतिपक्षले राखेको जायज माग सम्बोधन गर्न सरकार गम्भिर नभएको आरोप लगाउनुभयो । प्रवक्ता महतले सहकारीको बचत अपचलनमा गृहमन्त्री आँफै समिति बनाउन तयार भएको देखिएपनि एमाले अध्यक्ष केपी ओली बचाउमा उत्रिएको देख्दा उहाँको पनि धेरै ठूलो संलग्नता छ कि भन्ने आशंका गर्न सकिने ठाउँ रहेको बताउनुभयो ।

सहकारीमा सबैभन्दा ज्यादा एमालेको प्रभुत्व रहेको भन्दै उहाँले आफ्नो दल र कार्यकर्ता कसैको सहकारी अपचलनमा संलग्नता नभएको दाबी गर्नुभयो । उहाँले यदि कसैको संलग्नता रहे छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.