समयमै सकिने गरी रसुवा सुख्खा बन्दरगाहको काम द्रुतगतिमा

रसुवा- नेपाल चीन नाकामा निर्माण भइरहेको रसुवागढी सुख्खा बन्दरगाह (ड्राइ पोर्ट)को निर्माण कार्य ६० प्रतिशत पूरा भएको छ । रसुवाको गोसाईकुण्ड गाँउपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको निर्माण कार्य ६० प्रतिशत भन्दा माथि पुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

चीन सरकारको सहयोगमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्य पूरा गर्न बन्दरगाह निर्माण भइरहेको समितिले जनाएको छ ।

सन् २०२५ जुन महिनासम्म बन्दरगाह निर्माणको काम पूरा गर्ने गरी भएको सम्झौता अनुसार तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको छ । त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम कम्पनीले गरिरहेको सम्बद्धहरू बताउँछन् ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माण बारे जनकारी सार्वजनिक गरे अनुसार सुख्खा बन्दरगाहको काम दुई तिहाई सकिएको हो । अहिले बन्दरगाह भित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, कामभईरहेको छ भने बाटो निर्माण सम्पन्न भएको छ ।

कोभिडका कारणले लामो समयदेखि काम रोकिएकोमा हाल नियमित रूपमा भइरहेकाले तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ ।

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ । बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।

अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।

सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ भने बन्दरगाहमा ३५० वटा कन्टेनर अट्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.