प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताबीच भेटवार्ता

संसदीय दलको निर्णयानुसार प्रस्तुत हुन्छौं- नेता लेखक

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद सुचारु गर्न सघाउन नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । बालुवाटारमा आज बिहान नेपाली काँग्रेसका नेताहरुसँगको भेटमा उहाँले सो आग्रह गर्नुभएको हो ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा र काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार जानुभएको थियो । सहकारी ठगी प्रकरण सम्बन्धी समस्या समाधानका लागि आफूले सबै पक्षसँग सम्वाद जारी राखेकोले समाधान निस्कने विश्वास दिलाउनु भएको कांग्रेसका नेताहरुले बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसदमा आज सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सफल बनाउन नेपाली काँग्रेससँग आग्रह गर्नुभएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस संसदीय दलको बैठकले गर्ने निर्णयका आधारमा काँग्रेस संसदमा प्रस्तुत हुने कुरा प्रधानमन्त्रीलाई बताएको नेता लेखकले जानकारी दिनुभयो ।

यसैबीच नेपाली काँग्रेस संसदीय दलको बैठक सिहदरबारस्थित दलको कार्यालयमा बसेको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । छानविन समिति गठन नभएसम्म संघीय संसद्का दुवै सदन चल्न नदिने अडान कांग्रेसले राख्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.