घाँसले घेर्न थाल्यो गुल्मीदरबारमा बनेको १५ शैयाको अस्पताललाई

गुल्मी- गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल भवन अलपत्र परेको छ । निर्माण व्यवसायीले गत असारमा भवन निर्माणको काम सम्पन्न गरेपनि भवन प्रयोगमा नआउँदा अलपत्र परेको हो ।

भवन निर्माण गरेको रकम निर्माण व्यवासयीले नपाउँदा प्रयोगमा आउन सकेको छैन् । गाउँपालिकाको वडानम्बर–३ को धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न भएको हो ।

साढे पाँच तलको भवन निर्माणको काम रङ्गरोगन गरेर चिटिक्क पारिएको छ । भवन ०७८ साल असार २५ गते सम्झौता भइ ०८० असारमा तोकिकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले बताउनुभयो ।

१२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्डर्स प्रा.लि. तम्घासले भवन निर्माण गरेको हो । निर्माण व्यावसायीले २ करोड ७ लाख रकम अझै पाएका छैनन् ।

जसले गर्दा अस्पताल भवन अहिले ताल्चा मारेर राखिएको छ । निर्माण सम्पन्न भएको भवनको एक वर्षसम्म सञ्चालनमा नआउँदा केहि ठाउँमा भत्किन र घाँसले घेर्न थालेको छ ।

लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको स्थानीय थम्मनबहादुर झार्की मगरले बताउनुभयो । उहाँले घर छेउमा अस्पताल बन्ला सुबिधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताउनुभयो ।

सम्बन्धी पक्षले यसबारे अबिलम्ब ध्यान दिएर भवन सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय संघिए मामिला मन्त्रालयबाट हाललाई पालिका चलाउने भनेर पठाएको पत्र पठाएकाले डाक्टर लगायत स्वास्थ्य कर्मीहरु राख्न पालिकासँग आन्तरिक श्रोत नहुँदा राख्न समस्या रहेको पन्थीले बताउनुभयो ।

भवनको रकम निकासा गर्नका लागि पालिकाबाट पटकपटक जानकारी गराउने काम भइरहेको छ । तर त्यसको सुनुवाई नहुँदा भवन अलपत्र जस्तै बनेको पालिकाले जनाएको छ ।

भवनमा लिफ्ट सिस्टमसँगै अत्यधुनिक खालको रहेको छ । नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यस गरेको थियो ।

तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ ।

२ वटा वडामा सुरक्षित गर्वपतन सेवा उपलब्ध रहेको छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् ।

त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा पालिकामै १५ शैयाको अस्पताललाई संचालनमा ल्याउने भनेको थियो ।

त्यसको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा एम.वि.वि.एस. डाक्टरको नियुक्ती गरी विशेषज्ञ सेवा प्रवाह गर्ने जनाएको थियो । गाउँपालिकामा एम.वि.वि. एस.डाक्टर सहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेना लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

तर भवन निर्माण व्यावसायीबाट हस्तातरण नहुँदा समस्या बढदै गएको छ । अहिले गाउँपालिकाले नसर्ने रोग क्यान्सर, सुगर जस्ता विभिन्न रोगबाट बच्न ‘हाम्रो गाउँ स्वास्थ्य बनाउ’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नागरिकको खानपान बिभिन्न कारणले नसर्ने रोगका बिरामीहरु बढलै जान थालेपछि त्यसको रोकथाम र जनचेतनाको लागि उक्त कार्यक्रकम गरिदै आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण अर्यालले बताउनुभयो । गाउँपालिकामा निर्माण भएका अत्यधुनिक अस्पताल भवनहरुमा तोकिए अनुसारका सेवा सुबिधा सहितका डक्टरहरु उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन् ।

अहिले पनि दुर्गम गाउँवस्तीमा बिशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जिल्लाका अन्य पालिकामा १५ शैयाका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैयाको अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.