कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

मोरङ- कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार गरी दश सदस्यीय बनाइएको छ । गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन गरिएको हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा ५ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको हो ।

मुख्यमन्त्री सहित दुई जना विना विभागिय मन्त्री नियुक्त गरी गठन भएको कोशी प्रदेश सरकारमा एमालेका एक जना राज्यमन्त्रीसहित ६ जना र माओवादी केन्द्रका एक जना राज्यमन्त्री सहित ४ जना मन्त्रीहरु रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई विभागीय जिम्मेवारी समेत तोकिएको छ । नयाँ मन्त्रीहरुमा राजेन्द्र कार्की स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्री, एकराज कार्की खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा सिर्जना राइलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको राज्य मन्त्री र बंदना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसैगरी बैशाख २७ गते नियुक्त राम बहादुर मगरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र गणेश उप्रेतीलाई भौतिक पर्ूवाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले र राज्य मन्त्रीहरुलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण पछि संचारकर्मीहरु संग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफ्नो सरकारको प्रमुख प्राथमिकता सुशासन, स्थायित्व र स्थिरता रहने र चाडै नै सरकारले बजेट निर्माणको कार्य थाल्ने जानकारी दिनुभयो ।

शपथ ग्रहण कार्यक्रममा सभामुख, प्रदेश सांसदहरु, प्रमुख सचिव, प्रदेश सभा सचिव सहित विभिन्न मन्त्रालयका सचिवहरु र उच्च पदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेकेा थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.