अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

पर्सा- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई आज वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ । त्यसकारण संसद् चलाउनै पर्छ”, उहाँले भन्नुभयो, “देशै ठप्प पार्ने काम स्वीकार्य हुँदैन । कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।”

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि”, अध्यक्ष ओलीले भन्नुभयो । त्यसैगरी उहाँले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्नेे बताउनुभयो ।

अध्यक्ष ओलीले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेस हाउगुजी फैलाउने काम गरिरहेका प्रति कटाक्ष गर्नुभयो। “कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ”, उहाँले भन्नुभयो, “त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।”

त्यसअवसरमा एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित एक सय २७ जना पदाधिकारीले शपथग्रहण गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.