पर्यटक आकर्षणको केन्द्र बन्दै मुस्ताङको ढुम्बाताल (फोटोफिचर)

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङ निकै सुन्दर, आकर्षक र मनमोहक छ ।

यहाँ मार्फा, जोमसोम, कागबेनी, प्रसिद्ध मुक्तिनाथ मन्दिर, लोमान्थाङ, बहुचर्चित कोरला नाका, दामोदरकुण्डलगायत मुस्ताङका प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यहरु हुन् । यहाँ प्राचीन गुफा, गुम्बा र तालहरु रहेका छन् । यसैमध्ये घरपझोङ गाउँपालिका–५, सम्लेगाउँमा पर्ने ढुम्बाताल पनि पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेको छ ।


ढुम्बाताल मुस्ताङ पुग्ने पर्यटकहरुको मुख्य रोजाइमा पर्ने गर्दछ । निलगिरि हिमालको काखमा अवस्थित पर्यटकीय आकर्षणले भरिएको ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बन्दै गएको हो । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि २ किलोमिटरको दूरीमा पर्ने ढुम्बाताल दृष्य अवलोकन गर्नका लागि निकै आकर्षक मानिन्छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ । ढुम्बातालको उत्तरतर्फ निलगिरी हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा र पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ ।


परापूर्वकालदेखि नै ढुम्बातालको शुद्ध जलको प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयवासी बताउँछन् । ताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हिउँदको चिसो मौसममा समेत पर्यटकहरु ढुम्बाताल जाने गर्दछन् ।

तालको नजिकैबाट मनोरम प्राकृतिक दृष्यको आनन्द लिन सहज होस् भनेर बस्नको लागि आरामदायी बेञ्च तथा फोटोसेसन गर्ने कुर्सीहरू राखिएको छ । तिनै कुर्सीहरू तथा बेञ्चमा बसेर आनन्द लिँदै पर्यटकहरुले तालको पृष्ठभूमीमा फोटो र भिडियो खिचेर रमाउने गर्छन् ।


समुन्द्री सतहदेखि २८ सय ३० मिटरको उचाइमा रहेको ढुम्बाताल पवित्र बौद्ध तालको रुपमा पनि प्रसिद्ध मानिन्छ । ढुम्बातालको लम्बाई १५० मिटर र चौडाई १०० मिटरको हाराहारीमा रहेको अनुमान गरिएको छ । केही वर्षअघि यस तालमा नेपाली चलचित्र ‘जेरी’को छायाङ्कन गरेपश्चात् नेपाली युवा पुस्ताहरुले यसलाई ‘जेरी ताल’को नामबाट पनि चिन्ने गरेका छन्भने तालमा अन्य स्वदेशी र विदेशी चलचित्रहरु पनि छायाङ्कन गरिएको छ ।


हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि स–साना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा अन्त्यन्त रमाइलो हुने त्यहाँ पुग्ने पर्यटकहरुसँग अनुभव छ । ढुम्बाताल भ्रमणसँगै वरपरको दृश्यहरुको अवलोकन गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक ताराकुमारी पाण्डेले अनुभव सुनाउनुभयो ।


तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछाहरु समेत पालिएको छ । स्थानीयले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउन माछा पाल्ने गर्दछन् । ती माछाहरु कसैले मार्न पाइँदैन र माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा मात्रै दिने व्यवस्था मिलाइएको छ । तालमा छाडिएका माछा पर्यटकहरुका लागि आकर्षण बन्ने गरेका छन् ।

ढुम्बातालसम्म पुग्नको लागि सडक र पदमार्ग बनाइएको छ । मुस्ताङको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुमध्ये अधिकांश ढुम्बातालको अवलोकन गर्न जाने गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताउनुभयो ।


गण्डकी प्रदेश सरकारले यसअघि प्रदेशभित्र रहेका विभिन्न १०० वटा पर्यटकीय गन्तव्यहरुको सूचीमा समेत मुस्ताङको ढुम्बाताललाई समावेश गरेपछि यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा ढुम्बातालको संरक्षण र प्रवद्र्धन गर्नुका साथै तालसम्म पुग्ने सडक विस्तार, तालको वरिपरी घेराबार निर्माण तथा अन्य पर्यटकलक्षित संरचनाहरु निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.