पश्चिम नेपालको मुख्य सडक २० दिन बन्द
पाल्पा- पश्चिम नेपालका सातभन्दा बढी जिल्ला जोड्ने पाल्पाको बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिनको लागि बन्द गरिएको छ । सडक स्तरउन्नती र मर्मतको लागि यही जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो ।
निर्माण व्यवसायीको माग अनुसार जिल्ला सडक सुरक्षा समितिको बैंठकले दैनिक १२ घण्टा सडक बन्द गर्ने निर्णय गरेको छ । जोर्ते क्षेत्रमा सडक अत्यन्तै साघुँरो हुँदा दुर्घटना हुने जोखिम अत्यधिक रहेकोले सवारी आवागमन बन्द गरी निर्माण कार्य सुरु गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
सडक जेठ ७ गतेबाट दैनिक विहान ८ बजेदेखि साँझा ७ बजेसम्म सडक बन्द रहने जनाइएछ । ढुङ्गा कटिङ्ग र सडक ढलानको कार्य गर्न बाटो बन्द गर्ने निर्णय गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
उक्त सडक खण्ड प्रयोग गर्नेहरुले वैकल्पिक सडकको रुपमा अर्गली–रानीमहल–बतासेडाँडा, ढुङ्गाखानी–होलाङ्गदी र अर्गली–रानीमहल–गोर्खेकोट–चिलाङ्गदी हुँदै सिद्धार्थ राजमार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्