बागमती प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन २१ खर्ब हाराहारी रहने अनुमान

मकवानपुर- चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन २१ खर्ब हाराहारी रहने अनुमान गरिएको छ ।

केन्द्रिय तथ्यांक विभागले बुधबार प्रदेश राजधानी हेटौंडामा सार्वजनिक गरेको लेखा तथ्यांक अनुसार बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २० खर्ब ७५ अर्ब रहने अनुमान गरेको हो ।

देशकै अर्थतन्त्रको एक तिहाई हिस्सा बागमती प्रदेशको रहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष (आव) २०८०-८१ मा बागमती प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादन(जीडीपी)मा ३६ दशमलब ३६ प्रतिशत योगदान रहने अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले बताउनुभयो ।

गत आर्थिक वर्ष बागमतीको योगदान ३६ दशमलब २२ प्रतिशत थियो । चालु आ.व.मा राष्ट्रिय वार्षिक कुल ग्राहस्थ उत्पादन ५७ खर्ब ५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । कोशी प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा १५.८ प्रतिशतले योगदान दिने अनुमान छ ।

लुम्बिनीले १४.४ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेश ९.१ प्रतिशत, सुदुर पश्चिमले ७.१ प्रतिशत हिस्सा योगदान दिने अनुमान छ । राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने तथ्यांकले देखाएको छ ।

बागमतीको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३ दशमलब ९६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धिदर १ दशमलब ७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

चालू आर्थिक वर्षमा प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापारको २१ दशमलब ५३ प्रतिशत रहने अनुमान छ । यस प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धि कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ । ग्राहस्थ उत्पादनमा सबेभन्दा न्यून पानी आपूर्ति तथा फोहोर व्यवस्थापनमा ० दशमलब २८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

चालू आर्थिक वर्षमा बागमतीमा क्षेत्रगत कुल मूल्य अभिवृद्धि वृद्धिदर आवास तथा भोजन सेवा क्षेत्रमा सबैभन्दा बढी २० दशमलब ९३ प्रतिशत रहने अनुमान छ । सबैभन्दा थोरै निर्माण क्षेत्रको २ दशमलब ७१ प्रतिथशत रहने तथ्यांकमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा बागमती प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशबासीको प्रतिव्यक्ति आय २ हजार ४ सय ८४ अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.