गणतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रात्मक शासन व्यवस्थामा संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै मन्त्री शर्माले जतिसुकै माथिल्लो ओहदाको व्यक्ति भए पनि संविधान र कानुनको दृष्टिमा सबै समान हुने भएकाले सरकारले त्यसैअनुसार कानुन कार्यान्वयन गरिरहेको स्पष्ट गर्नुभयो ।
    “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुँदै गर्दा गणतन्त्रले केही गर्न सकेन भनेर एक प्रकारले नकारात्मक भाष्य सिर्जना गरिएको थियो । सामाजिक न्याय, समृद्धि तथा सुशासनको पक्षमा दृढतापूर्वक काम गरेकाले व्यवस्था र परिवर्तनका पक्षमा नकारात्मक भाष्य चिर्न सरकार सफल भएको छ”, नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “सूचना र सञ्चारका क्षेत्रमा पनि हामी गुणात्मक उपलब्धि हासिल गर्न सफल भएका छौँ ।”
मुलुकले पूर्वाधार विकासमा फड्को मार्दै गएको र अभ्यासका क्रममा कुनै कमी कमजोरी भएमा दोषीको भागिदार सम्बन्धित व्यक्ति हुने तर गणतन्त्रात्मक व्यवस्था भने नहुने स्पष्ट गर्दै उहाँले व्यवस्थालाई सबल बनाउने सवालमा जनताबाट आउने खबरदारीलाई सरकारले ग्रहण गर्ने बताउनुभयो ।
गणतन्त्र स्थापनापछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको तथ्यलाई प्रचारप्रसार गरी नयाँ पुस्तामा सकारात्मक भाव प्रवाह गर्नुपर्ने खाँचो औंल्याउँदै मन्त्री शर्माले राससले गणतन्त्र दिवसको सन्दर्भ पारी तस्बिर प्रदर्शनी गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले गणतन्त्रले ल्याएका उपलब्धिको प्रचारप्रसार गर्ने उपयुक्त माध्यम राससको तस्बिर प्रदर्शनी भएको बताउनुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र आएपछि विकास निर्माणसहित पूर्वाधारका क्षेत्रमा मुलुकमा भएको प्रगति र परिवर्तनबारे जानकारी दिने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । गणतन्त्र दिवसका उपलक्ष्यमा गत वर्षदेखि सुरु गरिएको तस्बिर प्रदर्शनीलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिइने उल्लेख गर्दै प्रदर्शनीमा दार्चुलाको मार्मादेखि पाँचथरको धार्पुसम्मका ९५ तस्बिर समेटिएका अध्यक्ष झाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.