भिरबाट मह काढ्ने १८ जना भिरौटे सम्मानित

कास्की- कास्कीको लान्द्रुकमा आयोजित भिर मौरीको मह काढ्ने महोत्सवका बीच कुल १८ जना भिरौटेहरु (भिरबाट मह काढ्ने व्यक्ति) सम्मानित हुनुभएको छ ।

यसरी सम्मानित हुनेहरुमा आन्नद पौडेल, घनश्याम चापागाई, नक्कल गुरुङ, खड्गबहादुर मगर, मनबहादुर पुन मगर, भिमबहादुर गुरुङ, भिमबहादुर पुन मगर, अर्जून गुरुङ र जय पौडेल क्षत्री हुनुहुन्छ ।

त्यस्तै स्थानीय जंगवीर क्षत्री, प्रतापबहादुर गुरुङ, भमोरसिंह गुरुङ, देवीलाल भण्डारी, सेते गुरुङ, नन्दलाल भण्डारी, क्षेरलाल गुरुङ, वाल पाध्या र लिला पाध्यालाई पनि मरणोप्रान्त सम्मान गरिएको छ ।

उहाँहरुलाई भिर मौरीका साथै महभिरको संरक्षण गर्दै गाउँको चिनारी बढाउन योगदान पुर्‍याउनुभएको भन्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी लगायत मूल आयोजक समितिले सम्मानपत्र र दोसल्लासहित सम्मान गर्नुभएको हो ।

तीन दिनसम्म आयोजित महोत्सवका बीच स्थानीय मोदीखोला किनारको कोटेसाङ भिरमा रहेका कुल ३० घार गोलाबाट करिव तीन सय लिटर मह संकलन गरिएको छ । संकलित मह प्रतिलिटर रु. तीन हजारमा बिक्री हुने गर्दछ ।

मर्दी तथा अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने उक्त स्थानमा आन्तरिक तथा बाहृय पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिनुभयो ।

लान्द्रुकमा प्रत्येक वर्ष कात्तिक-मंसिर तथा वैशाख-जेठमा गरी २ पटक भिरमौरीको मह काढ्ने गरिन्छ ।

भिरबाट मह निकाल्नका लागि स्थानीयहरुले डोरीको भर्‍याङ, मह संकलन गर्ने भाँडो, गोला तान्ने डोरी, छाती र कम्मरमा रोटा(सेफ्टी बेल्ड), गाग्री, डोको, डेक्ची लगायतका सामग्री प्रयोग गर्ने गर्नुभएको छ । यसवर्ष आयोजित बिहीवार सकिएको महोत्सव तेस्रो संस्करणको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.