‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ

काठमाडौँ- बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भए ।

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेर्नुभयो । नेपाली चलचित्रमा ‘टाइम लुप’ नयाँ प्रयोग हो । पहिलो दिनको व्यापार निकै उत्साहजनक छ । अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।”

उहाँले बिहानदेखि नै दर्शकको चाप चलचित्र भवनमा देखिएको जानकारी दिनुभयो । सूयोग गुरुङले निर्देशक गर्नुभएको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रदर्शनरत अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गर्नुभएको छ । जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाउनुभएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताउनुभयो । “यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु । मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ”, निर्देशक राउतले भन्नुभयो ।

उहाँले आफ्ना कलाकारसँग बिहीबार दिनभर काठमाडौँ उपत्यकाका चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिनुभएको थियो । दर्शकले दिनुभएको प्रतिक्रियाले चलचित्र लामो समयसम्म प्रदर्शन हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

विकास सुवेदीले लेख्नुभएको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गर्नुभएको छ । निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन एक करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.