पहिरोले स्वरुप बिगारेको रुप्से झरना पर्यटकको रोजाइमा (फोटो फिचर)

म्याग्दी – अग्लो र भिरालो पहाडको टुप्पोबाट तलतिर कलकल बगिरहन्छ झरना । भीर तथा पहाडको साहारा लिँदै बगेको झरनाको चिसो पानी । पहाडमा लडबुडी खेल्दै र छङ्छङ गरेर आवाज निकाल्दै बगेको झरना हेर्दा त्यहाँ पुग्ने जो कोही पनि एकैछिन मन्त्रमुग्ध हुन्छन् ।


हेर्दा निकै सुन्दर, आकर्षक अनि मनमोहक लाग्छ, म्याग्दीको रुप्से झरना । बेनी–जोमसोम–कोरला सडकखण्ड नजिकै पर्ने रुप्से झरनामा घाम परेको बेला इन्द्रेणीका रङहरु पनि देखिन्छन् । प्राकृतिक सौन्दर्यता बोकेको यस झरनाको विषयमा वर्णन गरिसाध्य छैन । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकमा र हिमालपारीको जिल्ला मुस्ताङ जाने बाटैमा पर्ने भएकाले पनि झरनामा पर्यटकहरुको लर्को लाग्ने गर्दछ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने पर्यटकीय रुप्से झरना आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षकस्थल मानिन्छ ।

वि.सं. २०७७ साल साउन ५ गते राति परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले झरनाको पुरानो स्वरुप बिगारेको भए पनि पर्यटकहरुको आकर्षण भने उत्तिकै छ । बाढीपहिरोले रुप्से झरनालाई अस्तव्यस्त बनाउनुका साथै रुप्सेखोला माथिको पक्की मोटरेबल पुल भत्काएको थियो । बाढीकै कारण एकवटा यात्रुवाहक बस र एउटा होटल पनि पूर्ण रुपमा क्षति भएको थियो ।

रुप्से झरनामा आएको बाढीले संसारकै गहिरो अन्धगल्छी अर्थात् कालीगण्डकी नदीको खोंचलाई समेत पुरिदिएको छ । बाढीपहिरोले झरना र अन्धगल्छीको खोंचको स्वरुप बिगारे पनि पर्यटकहरुको आकर्षक भने अझ बढेको पाइन्छ । तत्कालीन समयमा पहिरोले झरना र अन्धगल्छीलाई कुरुप बनाउनुका साथै पदमार्ग र मन्दिर समेत बगाएको थियो । पहिरोले क्षति पु¥याएको रुप्से झरना र अन्धगल्छी आसपासमा संरक्षणको काम गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । दानामा पर्ने सुन्दर प्राकृतिक रुप्से झरना पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुप्से झरना खासगरी मुस्ताङको भ्रमणमा जाने पर्यटकहरुको मुख्य रोजाइमा पर्दछ । 

म्याग्दी सदरमुकाम बेनीदेखि ३० किलोमिटर उत्तर पूर्वमा अवस्थित यस झरना समुन्द्री सतहदेखि १८ सय मिटरको उचाइमा रहेको छ । नेपाल सरकारले सन् १९७५ सालमा हुलाक टिकटमा समेत रुप्से झरनाको फोटो राखेर टिकट प्रकाशन गरेपछि झरनाले थप चर्चा बटुलेको हो । पर्यटकीय हिसाबले आकर्षक र प्रख्यात मानिने रुप्से झरनाको केही तलपट्टी नजिकै संसारकै सबैभन्दा गहिरो मानिएको अन्धगल्छी पर्दछ । पवित्र कालीगण्डकी नदीले बनाएको अन्धगल्छीको गहिराई ६ हजार ९ सय ६७ मिटर रहेको छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यो गल्छी समुन्द्री सतहबाट १२ सय मिटरको उचाइमा पर्दछ ।


पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिने रुप्से झरना र अन्धगल्छीमा नेपालसहित विभिन्न देशबाट पर्यटकहरु आउने गर्दछन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मानिने यस झरना र गल्छी म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुमध्ये आकर्षक गन्तव्य हुन् । पर्यटकीय आकर्षण बोकेको झरना र अन्धगल्छीमा विशेष गरी पर्यटकहरु विदा मनाउन, फुर्सदको समय तथा शनिवारको दिन घुम्न निस्कन्छन् । व्यस्त दैनिकी र तनावबाट मुक्त हुन तथा कामकाजमा अल्झिरहने मानिसहरु पनि पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने गरेका छन् ।

रुप्से झरनामा म्याग्दीसहित विभिन्न जिल्लाबाट पर्यटकहरु पुग्छन् । मुस्ताङ जाने पर्यटकहरु एकैछिन भनेर झरनामा पुगेर रमाउँछन् । मुस्ताङ जाने क्रममा रुप्से झरनामा ओर्लिएर साथीभाइसँग फोटो र भिडियो खिचेर रमाउन पाउँदा आफूले खुसीको बयान गर्न नसकेको आन्तरिक पर्यटक सञ्चिता घिमिरेले अनुभव सुनाउनुभयो । रुप्से झरना तथा अन्धगल्छीको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।


विगतमा वर्षात्को बाढीपहिरोले बिगारेको झरना र अन्धगल्छीको स्वरुपलाई पुरानै अवस्थामा फर्काएर पर्यटकको आगमन बढाउन सकिने सम्भावना उत्तिकै छ । पहिरोको नियन्त्रण गरेर पर्यटकीय हिसाबले रमणीय रुप्से झरना र अन्धगल्छीको स्वरुपलाई पुरानै अवस्थामा फर्काउनुपर्ने स्थानीयवासी बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.