यस्तो छ संसदको आजको सम्भावित कार्यसूची !

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरुको मनोनयन गर्नुहुने छ ।

यसैगरी, सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्नुहुने छ । सांसद प्रेम सुवालले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले “आर्थिक वर्ष २०८०-०८१ को आर्थिक सर्वेक्षण” पेश गर्नुहुनेछ । अर्थमन्त्री पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामति सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गत जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उक्त छलफलको क्रममा उठका प्रश्नहरुको जवाफ दिनुहुने छ ।

सभामुखले प्राप्त संशोधनहरु र राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.