राजमार्गका होटलमा मनपरी

धादिङ- तपाइ लामो दुरीको यात्रामा निस्कदै हुनुहुन्छ भने सवारी साधनले कुन ठाँउमा खाना खुवाउलान् ? प्रायः सबैलाई थाहा छ कि खाना खुवाउने चालकहरुको निश्चित ठाँउ छ ।

जस्तोसुकै अवस्थामा पनि सकेसम्म उनीहरु त्यही होटलमा पुर्‍याउँछन् जहाँ उनीहरुको रजगज चल्दै आएको छ । यसरी खाना खुवाउने सन्दर्भमा सवारी साधनको एकाधिपत्य र होटलहरुको मनपरीले सधैं यात्रुहरु भने मारमा पर्ने गरेका छन् ।

लामो दुरीका सवारी साधनमा यात्रुहरु मध्यरातमा मस्त निदाएको बेला यात्रुबाहक बसहरु खाना खुवाउने ठाउँमा आएर रोकिन्छन् । यात्रुहरुले बेलुकाको खाना मध्यरातमा खान किन नपरोस्, तर चालकहरु भने त्यहाँ मात्र बस रोक्छन्, जुन होटलमा उनीहरुको पहिल्यैदेखि सम्बन्ध हुन्छ ।

राजमार्गको छेउमा यस्तो एउटा होटल हुन्छ, जसको आसपासमा अर्को कुनै पसल सम्म पनि हुँदैन । अनि त्यही होटलमा एकैपटक थुप्रै ठूला यात्रुबाहक बसले यात्रुहरुलाई खाना खुवाउनकै लागि भनेर रोक्छन् ।

समयमा खाना नखुवाउने प्रवृत्ति, होटलहरु चालककै रोजाइमा पर्नुपर्ने, एकैपटक थुप्रै सवारी साधन रोकिने अनि यात्रुहरुको खचाखच भिड । पृथ्वी राजमार्ग भएर काठमाण्डौ बाहिरिने यात्रुहरुले त यो समस्या भोगिरहेकै छन् । अरुले पनि सहजै अनुमान लाउन सक्छन् कि मध्यरातको खाना, खानाको गुणस्तर, महङ्गी र होटल व्यवसायीले यात्रुलाई गर्ने व्यवहार कस्तो होला?

पृथ्वी राजमार्ग भएर दैनिक हजारौं यात्रुहरु ओहरदोहर गर्दछन् । यसरी यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै नागढुङ्गादेखि मुग्लीनसम्म राजमार्गको आसपासमा दर्जनौ होटलहरु खुलेका छन् । तर एकान्त ठाउँमा रहेका होटलहरु यात्रुवाहक सवारी साधनको रोजाइमा पर्दछन् ।

राजमार्गमा जतिपनि होटेल छन् । तर आसपासमा सानो पसल समेत नभएका होटेलहरुमै किन पुग्नुपर्ने ? अझ जति रात परेपनि उही गन्तव्यमै किन पुग्नुपर्ने ? यात्रुहरुले सँधै राख्ने जिज्ञासाको जवाफ कसैले दिन सकेको छैन ।

धेरै सवारी साधनका यात्रुहरु एकैपटक होटलमा छिर्दा यति भिड हुन्छ कि यात्रुहरुलाई पहिलोपटक खाना त दिन्छन्, तर पछि थप खानाका लागि कसैले फर्केर पनि हेर्दैनन् । यस्तो भिडभाडमा पाक्ने र खुवाइने खानाको गुणस्तरमाथि सधैं प्रश्न उठिरहन्छ ।

सवारी चालकले आफ्नो अनुकुलका होटलमा लगेर सवारी साधन रोक्ने र होटेल व्यवसायीले यात्रुलाई भन्दा चालकलाई नै बढी प्राथमिकता दिने प्रवृत्तिले पनि यो समस्या जहिले उस्तै छ ।

सवारी चालकहरुले सँधै एउटै होटलमा रोके वापत उनिहरुलाई होटल व्यवसायीहरुले भत्ता उपलब्ध गराउँछ भनिन्छ । यो पृष्ठभूमिमा आफ्नो अनुकुलको होटलमा खाना खुवाउन लगिसकेपछि यात्रुहरुको सुविधा र खानाको गुणस्तरमा चालक र होटल व्यवसायी दुवै जिम्मेवार हुनुपर्ने होइन र ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.