दिल्लीको एक अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु

’दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल”मा उपचार भइरहेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गर्नुभएको छ । “दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ,” राष्ट्रपति मुर्मूले एक्स (ट्वीटर) मा लेख्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस् । यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । केजरीवालले एक्समा लेख्नुभएको छ, “बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ । यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौं।”

अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो । तीमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ ।

केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.