निजामती सेवा विधेयक आगामी असार भित्र- मन्त्री जोशी

विराटनगर-सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताउनुभएको छ ।
 सामान्य प्रशासन मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उहाँले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताउनुभएको हो । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उहाँको भनाइ थियो ।
सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उहाँले बताउनुभयो । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रुपमा लिएको बताउनुहँुदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताउनुभयो ।
अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक जस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिनमा प्रशासनिक अप्ठ्यारो हुने कुनै काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो । मुलुकमा प्रशासनिक र वित्तीय संरचना कमजोर रहेको उहाँको धारणा थियो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशको बजेट हात्ती दुब्लाएर मुसो भएको जस्तो छ, जनताका चाहना र आवश्यकता धेरै छ, कसरी पूरा गर्न सकिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.