सहकारी ठगीबारे संसदीय छानबिन समितिको कार्यादेशमा अन्तिम ड्राफ्ट बनाउँदै कार्यदल

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको कार्यादेश टुंगो लगाउन गठन भएको कार्यदलको बैठक बसिरहेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय बसिरहेको बैठकमा अहिले अन्तिम ड्राफ्टमा काम भइरहेको कानुन मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।
बैठकमा कानुन मन्त्री गिरीसहित एमालेबाट महेश बर्तोला, कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार माओवादीबाट हितराज पाण्डे र रास्वपाबाट शिशिर खनाल सहभागी छन् ।

हिजो बसेको शीर्ष दलका नेताहरुबीच ७ सदस्यीय संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको थियो । कांग्रेस र एमालेका २-२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक-एक जना सदस्य रहने गरी संसदीय समिति बनाउने तयारी छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।

दलहरुबीच व्यक्तिको नाम किटान नगर्ने गरि समिति गठन गर्ने सहमति जुटेको छ । संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायत रवि लामिछाने जोडिएका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने बताइएको छ । त्यसलाई अन्तिमरुप दिन कार्यदलको बैठक बसिरहेको हो ।
मंगलबार बिहान बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल बैठकले सांसदहरुको नाम दिउँसो ३ बजेभित्र उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.