पृथ्वी राजमार्गमा सधैँ सास्तीः आधा घण्टाको यात्रा गर्न झण्डै पाँच घण्टा !

धादिङ- विगत चार दशकदेखि राजधानी जोड्ने मुख्य मार्ग हो पृथ्वी राजमार्ग । दैनिक हजारौँ यात्रुले यात्रा गर्ने सडकखण्ड पछिल्ला दिनहरुमा यो अस्तव्यस्त छ । अहिले पृथ्वी राजमार्गमा जाम हुन कुनै ठूलै कारण हुनु पर्दैन ।

मध्य जेठमा एकदिन परेको पानीले सडक हिलाम्मे हुँदा समेत सो राजमार्गमा यात्रु र सवारी साधनले सास्ती व्यहोर्नु अवस्था छ । सामान्य वर्षाका कारण राजमार्ग हिलाम्य भएपछि अठार घण्टाभन्दा बढी सवारी साधन जाममा पर्ने गरेका छन् ।

राजमार्गको स्तरोन्नतीको नाममा ठाँउ ठाँउमा सडक भत्काएर छाडिदिएपछी हजारौं सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले निकै कष्टप्रद यात्रा गर्नुपरिरहेको छ । घण्टौ जाममा बस्नुपर्दा यात्रुलाई जति सास्ती छ, त्यति सास्ती चालकलाई पनि सवारी साधन चलाउनलाई छ ।

एकदिन पानी पर्दा भोग्नुपरेको यो सास्तीले ठूलो चेतावनी पनि दिएको छ । वर्षा सुरु हुँदैछ । निरन्तर पानी पर्न थाले झन् सडकको हालत कस्तो होला ? कति जाम पर्ने होला ? अहिले पृथ्वी राजमार्गको नौविसे मुग्लीन खण्डमा पर्ने गजुरीदेखी गल्छी गाउँपालिकाको बैरेनी क्षेत्रमा सडकका कारण निकै समस्या झेल्नुपरेको छ ।

सामान्य अवस्थामा आधा घण्टामा पार गर्न सकिने गजुरी गल्छी खण्ड पार गर्न पाँच घण्टासम्म लाग्ने गरेको छ । पानी पर्दा त झन् दिनभर नै लाग्छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य राजमार्गका कारण आसपास बसोवास गर्ने स्थानीयले पनी समस्या भोग्नु परेको छ भने राजमार्ग प्रहरीलाई त सवारी व्यवस्थापनमा निकै ठुलो चुनैती नै थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठको भनाई छ ।

निर्माण कम्पनीले आवश्यक जनशक्ति काममा लगाउन नसक्दा यस्तो समस्या व्यहोर्नुपरेको हो । राजधानी प्रवेश गर्ने प्रमुख द्वार त्रिभुवन राजपथको अवस्था पनि उस्तै छ ।

उकालो सडकका कारण मालवाहक सवारी साधनहरु उक्लन नसक्नु सवारी जामको मुख्य कारण बनेको छ । वर्षा भएको बेला त १२ किलो मिटर नागढुङ्गदेखी नौविसेसम्मको दुरी पार गर्न दिनभर लाग्ने गर्दछ ।

संघीय राजधानी प्रवेश गर्ने मुख्य राजमार्गको अवस्था त यस्तो छ भने अन्य स्थानको हालत झन् कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.