टी–२० विश्वकप क्रिकेट: राष्ट्र प्रमुखदेखि कुटनीतिक अधिकारीले दिए सफलताको शुभकामना

काठमाडौँ- नेपालले आजदेखि विश्वकपको यात्रा सुरु गर्न लागेसँगै मुलुक क्रिकेटमय जस्तै बनेको छ ।

नेपाल र नेदरल्याण्डस् बीच आज हुने पहिलो खेल अघि राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्म र कुटनीतिक वृत्तदेखि आम नागरिकसम्मले जितको लागि खेलाडीहरुलाई शुभकामना दिइरहेका छन् .

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न राष्ट्रपति देखि प्रधानमन्त्री, कुटनीतिक क्षेत्रदेखि र आमनागरिकले आ—आफ्नो ठाँउबाट शुभकामना तथा हौसला प्रदान गरिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ ।

विश्वकपमा ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रधानमन्त्रीले सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि संसद बैठकमै जर्सी लगाएर सहभागी हुनुभयो । खेलाडीहरुको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टोलीको जर्सी लगाएर आएको सांसदहरुको प्रतिक्रिया छ ।

नेपाली टिमलाई चिनियाँ राजदूत चेन सोङले समेत सफलताको शुभकामना दिनुभएको छ । सामाजिक सञ्जालमा भिडियो राख्दै उहाँले शुभकामना दिनुभएको हो ।

संघीय राजधानी लगायत देशका मूख्य सहरका टोल—टोलमा ठुला डिस्प्ले मार्फत नेपालको खेल प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूला एलईडी स्क्रीन राखेर प्रत्यक्ष खेल हेर्ने व्यवस्था मिलाएको छ । अधिकांश ठुला होटल तथा रेस्टुरेन्टहरुले पनि त्यहाँ आउने ग्राहकहरुलाई आजको खेल हेर्ने व्यवस्था मिलाएका छन् ।

नेपाली टिमको मनोबल बढाउन अमेरिकामा रहेका नेपाली समुदायले पनि विभिन्न कार्यक्रम गरिरहेका छन् । अहिले हुने खेलमैदानको प्याराफिटमा समेत अधिकांश नेपाली दर्शकहरुको उल्लेखनीय उपस्थिति हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.