प्रतिनिधिसभा बैठकः बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।

छलफलमा भाग लिँदै सांसद दीपक गिरीले हरेक वर्ष ल्याइने बजेटको व्यवहारिक कार्यान्वयन नभएको बताउनुभयो । प्रत्येक आर्थिक वर्षको बजेटमा ‘बजेट व्यवस्था गरिएको’, ‘बजेट व्यवस्था गरिनेछ’ भन्ने शब्द राखेर नागरिकलाई भुक्याउने काम गरिएको उहाँको भनाइ थियो ।

सांसद ठाकुर गैरले आगामी आवको बजेट आधारभूत रुपमा सही रहेको उल्लेख गर्दै सत्तारुढ दलको साझा नीति तथा कार्यक्रममा तादम्यता कायम हुन नसकेको हो कि भन्ने जिज्ञासा राख्नुभयो । उहाँले बजेटमा राखिएका कतिपय विषय कार्यान्वयन हुन नसकेको तथ्य पेस गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

सांसद पूर्णबहादुर घर्तीले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा पूर्ण समर्थन रहेको बताउनुभयो । बजेटले संविधानको कार्यान्वयन, रोजगार वृद्धि, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको स्पष्ट पार्दै उहाँले मुलुकमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य बजेटमा राखिएकाले सकारात्मक रहेको बताउनुभयो ।

सांसद सन्तोष परियारले राजनीतिक परिवर्तनलाई स्थायित्व बनाउन अर्थराजनीतिले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गर्न माग गर्नुभयो । चालु खर्च र पुँजीगत खर्चको बीचमा रहेको खाडल कम गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद कृष्णकुमार श्रेष्ठले बजेटमा तराई–मधेशमा भूमिगत जल सिँचाइ कार्यक्रम, स्यालो ट्युबेललगायत विषय समेटिएको, उर्वर भूमिलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । तराई–मधेशमा खानेपानीको अभाव रहेकाले त्यसलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन नसकेको उहाँले गुनासो गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले राजनीतिक प्रभावका आधारमा बजेट विनियोजन गरिएको, अर्थतन्त्र मन्दीमा रहेकाले त्यसको समाधानका लागि ध्यान नदिइएको बताउनुभयो । बैठकमा सांसदहरु बिना जैशवाल, सुशीला श्रेष्ठ, सोनु मुर्मु, सर्वेन्द्रनाथ शुक्लाले आगामी आर्थिक वर्षको बजेटका बारेमा आलोचनात्मक टिप्पणी गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.