विद्यार्थीले संकलन गरे ७५० के.जी प्लाष्टिकजन्य फोहोर

स्याङ्जा- घर तथा विद्यालयलाई प्लास्टिक मुक्त बनाउन स्याङ्जाको फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी मार्फत प्लाष्टिकजन्य फोहोर संकलन गर्ने अभियान सुरु गरेको छ ।

विद्यार्थीद्वारा संकलित प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन कार्यविधि २०८० निर्माण गरेर फोहोर संकलन अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । यसरी विद्यार्थीले संकलन गरेको फोहोर विद्यालयमा ल्याएपछि प्रति केजी १० रुपियाँ प्रोत्साहन स्वरुप गाउँपालिकाले प्रदान गर्नेछ ।

विश्व वातावरण दिवसको अवसरमा यहाँका २१ सामुदायिक विद्यालयमध्ये १० विद्यालयका विद्यार्थीले ७ सय ५० किलो फोहोर संकलन गरेर विद्यालयमा बुझाएका छन् । यसको नियमन गर्न प्रत्येक विद्यालयमा ५ सदस्यीय विद्यालय स्तरीय फोहोर मैला व्यवस्थापन समन्वय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

पालिकालाई प्लाष्टिकजन्य फोहोर मुक्त बनाउन विद्यालयबाट अभियान सुरु गरिएको बताउँदै सुवेदीले भन्नुभयो, ‘पालिकाले प्रशोधन केन्द्र पोखरा सम्म ढुवानीको व्यवस्थापन गर्नेछ भने प्रति के.जी १० रुपियाँ प्रोत्साहन स्वरूपको रकम विद्यार्थीको खातामा संकलन हुनेछ ।’

विद्यार्थीहरुले पुरस्कार स्वरुप पाउने रकम बचत गर्न सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको निशुल्क बैँक खाता पालिकाले खोलिदिएको छ । यो कार्यक्रम निकै प्रशंसनीय रहेको र विद्यार्थीको समेत फोहोर न्यूनिकरण अभियानमा आकर्षण रहेको सिद्धार्थ माविका प्रअ लक्ष्मण शर्माले जानकारी दिनुभयो ।

सिद्धार्थ माध्यमिक विद्यालयमा मात्र १५२ के.जी फोहोर संकलन गरिएको शर्माले बताउनुभयो । पालिकाभित्र सबैभन्दा बढि मैदान माविमा प्लाष्टिकजन्य फोहोर संकलन भएको छ । यहाँ ३८४ किलोग्राम फोहोर संकलन भएको फेदीखोला गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताउनुभयो ।

यो कार्यक्रम लागू भएसँगै यहाँका विद्यार्थीले आफ्नो घरबाट निस्किने प्लाष्टिकजन्य फोहोर गाउँपालिकाले उपलब्ध गराएको बोरामा संकलन गरेका छन् । यसो गर्दा अभिभावक र समुदायमा पनि चेतनाको विकास हुने पालिकाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.