अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजना पक्राउ

रुपन्देही- फार्मेसीमा बसेर अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३, रानिगाउँबाट संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन भन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषयमा खेलवाड गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जनाकारी दिनुभयो ।

पक्राउ परेका आचार्य फार्मेसी संचालक भण्डारीका ज्वाइ नाता पर्ने व्यक्ति भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबैजनालाई अनुसन्धान पछि प्रचलित कानून अनुसार कारबाही गरिने अनुगमन समितिले जनाएको छ ।

अन्य फार्मेसीमा अनुगमनमा गैरकानूनी कार्य नभेटिए पनि म्याद गुज्रिएका औषधिहरु व्यवस्थापन गर्ने तरिका सही नपाइएपछि तत्काल त्यसलाई सुधार्न निर्देशन दिइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा.गौरव ढकालले जानकारी दिनुभयो ।

यस्तै, त्यस क्षेत्रमा रहेका ५ वटा होटल तथा रेष्टुरेन्टमा समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नविकरण नभएका, मूल्यसूचि अपडेट नगरिएको र सरसफाईमा ध्यान नदिएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ । यस्तै, नविकरण नभएका होटल तथा रेष्टुरेन्टलाई एकहप्ता भित्र नविकरण गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.