चार बर्षदेखि भैँसी गोठमा रात बिताएकी लिलावती

स्याङ्जा- स्याङ्जाको विरुवा गाउँपालिका-५ स्थित तारेपहराकी एकल महिला लिलावती लामिछाने चार वर्षदेखि गोठमा रात बिताउँदै आउनुभएको छ । भुकम्पको धक्का र वर्षातले घर भत्किएपछि उहाँ घर विहीन बन्नुभएको हो ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले दोस्रो किस्ता दिन नसकेपछि निर्माण गर्न लागिएको घर सम्पन्न हुन सकेन । उल्टै घर बनाएका मजदुर र सामान ल्याएको ठाउँमा ऋणको बोझ थपिएपछि उहाँको आँखाभरी आँशु छ । आँशु पुछ्ने न अफान्त छन् न त सरकार नै ।

विरुवा-५ तारेपहराकी एकल महिला लिलावती लामिछानेले यसरी भैँसी र बाख्रासँग रात बिताएको चार वर्ष पूरा भएको छ । ७२ को भुकम्पको धक्का र प्रत्येक वर्षको वर्षातले ७७ मा उहाँको घर पूर्ण क्षति भयो ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले लगत संकलन गरेर पहिलो किस्ता स्वरुप ७५ हजार प्रदान गर्यो । तर, नागरिकतामा पालिका फरक परेको भन्दै दोस्रो किस्ता रोकिएपछि उहाँको बास गोठमा हुन थालेको हो ।

आँधीखोला गाउँपालिका घर भएकी लामिछाने श्रीमानको मृत्यु भएपछि विरुवा गाउँपालिका-५ तारेपहरा मा माइतीको जग्गामा बस्दै आउनुभएको छ। नेपाल सरकार गृह मन्त्रालयले विपद प्रभावित परिवारलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत दोस्रो किस्ता नपाएपछि उहाँको घर मात्र बनेन आर्थीक भार पनी थपियो ।

जिल्लाको तथ्याङ्क अनुसार ७७ असार देखि कार्तिकसम्म स्थानीय विपद समितिले ५०३ घरधुरी सिफारिस गरेको थियो । जसमध्ये प्राधिकरणले ३४५ घरधुरीलाई व्यवस्थापन गर्नु भन्यो तर पहिलो किस्ता १७८ घरधुरीले मात्र प्राप्त गरे ।

विरुवा-५ कि लामिछाने जस्तै स्याङ्जामा १७८ घरधुरीले दोस्रो किस्ता चार वर्षदेखि पाएका छैनन् । मनसुन जन्य विपदको लागि राज्यले पहाडी जिल्लाका प्रभावितलाई चार लाख आर्थिक सहयोग गर्ने व्यवस्था गरेको छ । जसमध्ये नगरपालिकाले १५ प्रतिशत र गाउँपालिकाले १० प्रतिशत दाखिला गर्नुपर्दछ ।

दोस्रो किस्ता रोकिएका र पहिलो किस्ताको सिफारिसमा परेकालाई पुनः लाभग्राही कायम गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भनाई छ ।

मनसुनजन्य विपदमा परेका परिवारलाई पुनर्सथापना गर्न राज्यले निति बनाएपनि राजनैतिक पहुँचको आधारमा सिफरिस बनाइँदा वास्तविक लाभग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.