गुल्मीको पर्यटन प्रवर्द्धनमा बुटवलका व्यवसायी

गुल्मी- बुटवलका व्यवसायीले गुल्मीको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । उद्योग ब्यापार संघ बुटवलको एक टोलीले गुल्मी उद्योग बाणिज्य संघ र रेसुंगा नगरपालिकासंग भेटघाट गरी गुल्मीको पर्यटन प्रवद्र्धनमा आफूहरुको सहकार्य रहने बताउनु भएको हो ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र गुल्मी उद्योग बाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उद्योग ब्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ संस्था भेटघाट र आन्तरिक पर्यटन प्रवद्र्धन अन्तर्गत रेसुंगा तपोभूमि लगायतका स्थानको अवलोकन भ्रमण गरिएको बताउनुभयो ।

अध्यक्ष पाण्डेले आफ्नो संस्थाले विशेष गरी साना मझौला उद्योगी व्यवसायीका हकहितलाई प्राथमिकतामा राखेर आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा राष्ट्रिय पुंजीको विकासमा जोड दिएको भनाइ छ ।

कोरोना महामारीको असर अर्थतन्त्रमा अहिलेसम्म रहेपनि अब सुधार हुनेमा आशावादी बन्न आग्रह गर्दै रेसुंगा नगरपालिका र गुल्मी उद्योग बाणिज्य संघसंग संस्थागत सहकार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रको साथ र सहकार्यले मात्रै समग्र देशको विकास हुने बताउनुभयो ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बुटवल व्यवसायको हब भएको र गुल्मी धार्मिक पर्यटनको हब भएकाले व्यवसाय र पर्यटनमा सहकार्य जरुरी रहेको बताउनुभयो ।

दुबै संस्थासंगको छलफलमा उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी,महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी,सचिव एवं कार्यक्रम संयोजक कोशलराज भण्डारी लगायत सदस्यहरुले समेत आ–आफ्ना धारणा राख्नु भएको थियो ।

उद्योग व्यापार संघको टोलीले रेसुंगा तपोभूमि, रेसुंगा पार्क भ्रमण गरी आर्थिक सहयोग समेत गरेको र रेसुंगा होम स्टेमा बास बसेर ग्रामीण पर्यटन प्रवद्र्धन गरेको संघका महासचिव यमलाल मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.