गण्डकीमा मुख्यमन्त्री पाण्डेको परीक्षा आज, अन्योलमा विश्वासको मत

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । सर्वोच्च अदालतको परमादेशबमोजिम जेठ १६ मा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे नेतृत्वको सरकारले विश्वासको लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकारले बजेटअघि नै विश्वासको मत लिने भएको हो । त्यसका लागि सरकारले शुक्रबार गण्डकी प्रदेशसभामा यसबारे जानकारी दिएको थियो । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेसँग अहिलेसम्म कांग्रेसका २७ सांसदको मात्र समर्थन छ ।

६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद १ र अर्का १ सांसदको पनि समर्थन जुटाउनुपर्छ । संघको सत्ता गठबन्धनबाहेकलाई समर्थन गर्न सकिने निर्णय गरेको राप्रपाले गण्डकीबारे निर्णय लिइसकेको छैन ।

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले पार्टी केन्द्रको निर्देशनअनुसार राप्रपा सदनमा प्रस्तुत हुने बताउँछन् । सरकारबारे निर्णय गर्ने अधिकार भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको बैठकले दिएको थियो । असार १ गते बजेट ल्याउनैपर्ने वाध्यता र त्यसअघि नीति तथा कार्यक्रम पेश गरी पारित गर्न विश्वासको मत लिनैपर्ने अवस्थामा सरकार छ ।

पाण्डे नेतृत्वको सरकारले विश्वासको मत नपाए मुख्यमन्त्री पाण्डे पदमुक्त हुनुहुनेछ । त्यसपछि गण्डकीमा संविधानको धारा १६८ को (५) बमोजिम सरकार बन्ने अवस्था आउँछ । आजको सदनको कार्यसूचीलाई दृष्टिगत गरी गण्डकी प्रदेशसभाका प्रमुख दलहरुले ह्विप जारी गरेका छन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन् । पाण्डे सरकारले बहुमत अर्थात् ३१ सांसदको समर्थन जुटाउन राप्रपासहित स्वतन्त्र सांसद राजिब गुरुङ्ग ,दीपक मनाङे र अर्का एक सांसदको समर्थन पनि जुटाउनुपर्ने हुन्छ ।

राप्रपाले मत दिने निर्णय लिएको खण्डमा मनाङेले सहजै मत दिने अनुमान सत्ता पक्षको छ । त्यसो हुँदा मुख्यमन्त्रीलाई माओवादी केन्द्रको चुनावचिह्नबाट विजयी भएका फणीन्द्र देवकोटाको आश छ । एमाले र माओवादीबाहेक सबै सांसदको समर्थन पाए पनि पाण्डे सरकारले विश्वासको मत पाउने अवस्था छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.