विद्यालयले भाडा लगाएका तीन सय बढी सटरमा महानगरले लगायो ताला

काठमाडौं- काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ३४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३ सय बढी सटरहरुमा ताला लगाएको छ ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएको पाइएपछि महानगरले हिजो र आज ती सटरहरूमा ताला लगाएको हो ।

काठमाडौँ महानगरपालीका शिक्षा विभाग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले आइतबार र सोमबार विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा लगाईएका सटर तथा टहरामा ताला लगाएको हो ।

महानगरले आइतबार रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्याालयका १७, बागबजारस्थित सहिद शुक्र माविका २२, विजय स्मारक मावि डिल्लीबजारका ८ र पद्मकन्या मा वि डिल्लीबजारको भाडामा लगााएका १४ वटा सटरहरुमा ताला लगाएको थियो ।

पशुपति मित्र मावि चावहिलका ३९, मंगला देवी गौशालाको १२, रुद्रमति आधारभूत विद्यालय वानेश्वरको २, जनकल्यान मावि वौद्धको १४, महेन्द्र वौद्ध मावि वौद्धको २०, रत्नराज्य मावि वानेश्वरको ११ वटा व्यावसायिक प्रयोजनमा लगाईएका सटर तथा टहरामा आज ताला लगाएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आयआर्जन गरेका सटरहरुमा लगाएको तालाको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको दाहाले जानकारी दिनुभयो भने व्यवसायीहरुलाई आफ्ना सामानहरु लैजान सात दिनको समय दिइएको छ । व्यवसायीहरुले भने सामान सार्नको लागी सात दिन अपुग भएको गुनासो गरेका छन् ।

महानगरका अनुसार खालि गराइएका ति सबै सटरहरु शैक्षिक क्रियाकलापका लागी प्रयोगमा ल्याइनेछ । पढ्ने संस्कृति बसाउन भाडामा लगाईएका स्थानमा पुस्तकालय बनाइने महानगरले जनाएको छ ।

यदि विभिन्न शैक्षिक कार्यक्रम गर्न विद्यालयलाई अपुग भएमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले उपलब्ध गराउने पनि जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.