म्याग्दीमा यसवर्ष छ करोडको कृषि कार्यक्रम सञ्चालन

म्याग्दी- गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हिमाली जिल्ला म्याग्दीमा चालु आर्थिक वर्ष २०८०-०८१ मा जिल्लाभर झण्डै छ करोड रुपैयाँको लागतमा कृषिका कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।

कृषि उत्पादन वृद्धि गर्न, उत्पादकत्व बढाउन, रैथाने बालीको संरक्षण–प्रवद्र्धन र बजारीकरण गरी आयातीत कृषि उत्पादनलाई विस्थापित गर्नका लागि कृषि कार्यक्रममार्फत जोड दिइएको हो ।

यसवर्ष जिल्लामा कुल पाँच करोड ९७ लाख ५२ हजार रुपैयाँको कृषिका कार्यक्रमहरु सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि कार्यक्रमअन्तर्गत सबैभन्दा धेरै तीन करोडको बजेट अनुदानमा खायन प्रजातिको आलु खेती उत्पादनको कार्यक्रम सञ्चालन गरिएको छ । खायन प्रजातिको हिउँदे आलु खेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत ८ सय रोपनीमा आलु खेती विस्तार गरिएको थियो ।

यसैगरी खायन प्रजातिकै वर्षे आलु खेतीतर्फ १५ वटा कृषक समूहमार्फत ९ सय ५० रोपनीमा आलु खेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र वर्षेतर्फ बेनीसहित रघुगंगा र धवलागिरि गाउँपालिका रहेका छन् ।

त्यस्तै रैथानै बालीहरु जौ, कोदो, लट्टे र फापरको प्रवद्र्धन गर्न ४ वटा कृषि समूहमार्फत १० लाख रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यसैगरी फलफुल बगैंचा स्थापना कार्यक्रममार्फत ३० लाख रुपैयाँको लगानीमा २० हेक्टर क्षेत्रफलको जमिनमा २६ जना कृषक र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफुल बगैंचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फर्मसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाइएको छ ।

फलफुल नर्सरी स्थापना गर्नका लागि २० लाख रुपैयाँको लगानीमा जिल्लाको बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाको २ वटा कृषि फर्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ ।

आलु तथा बेमौसमी तरकारी खेती प्रवद्र्धन कार्यक्रमका लागि २८ लाख रुपैयाँको लागतमा १७ वटा फर्मलाई छनोट गरिएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ अदुवा र बेसार उत्पादन गर्न मंगला गाउँपालिकाको बरंजामा कार्यक्रम सञ्चालन भैरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । सुन्तलाजात फलफुलको उत्पादन बढाउन १० लाख रुपैयाँको लागतमा ६३ मेट्रिक टन प्राङ्गारिक मल वितरणको गरिएको छ ।

यसवर्ष १५ लाख रुपैयाँको बजेटबाट मकैको उन्नत बिऊ उत्पादन कार्यक्रम सञ्चालन भएको छ । यस कार्यक्रमतर्फ बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा २ सय रोपनीमा मकै लगाइएको छ । मकैको उन्नत बिऊ उत्पादन गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कृषिजन्य कार्यक्रममार्फत खासगरी जिल्लाका कृषकहरुको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग गर्ने र उत्पादन बढाउने कार्यालयको मुख्य लक्ष्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.