रुपन्देहीमा परिचय-पत्र लिने सेवाग्राहीको भीड बढ्याे

बुटवल- जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि राष्ट्रिय परिचय-पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो । यसअघि राहदानी लिनको लागि मात्र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दुवैका लागि राष्ट्रिय परिचय-पत्र अनिवार्य गरेको छ ।
गाउँ गाउँबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय भैरहवा आउने गरेका छन् । पछिल्लो केही दिन दैनिक चार, पाँच सय जना सेवाग्राही आउन थालेपछि कर्मचारी थपेर सेवाप्रवाह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो ।
कार्यालयले कर्मचारी थपेको जनाए पनि सेवाग्राहीहरुले राष्ट्रिय परिचय पत्र बनाउन धेरै दुःख पाएको गुनासो गरेका छन् । कतिपय सेवाग्राहीले दुई÷तीन धाएर राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाइएको गुनासो गरे । तराईको प्रचण्ड गर्मीमा कार्यालयले यथोचित व्यवस्थापन नगर्दा ज्येष्ठ नागरिकहरुले निकै सास्ती पाएको सेवाग्राहीले बताए
यसअघि राष्ट्रिय परिचय पत्रको लागि वडा वडामा टोली पुगे पनि कतिपयले यसलाई अनिवार्य नठानी फोटो खिचाएका थिएनन् । तर क्रमशः सरकारी सेवामा यसलाई अनिवार्य गरिएपछि छुटेकाहरु समेत राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय पुग्ने गरेका छन् ।
यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गर्ने गरिए पनि पछिल्लो समय परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् ।

यसअघि दुई वटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले सेवाग्राहीको चाप बढेपछि चार वटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ । तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउन सक्ने छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.