काठमाडौंको तापक्रम विगत दश वर्ष यताकै उच्च

काठमाडौं- यो वर्ष काठमाडौको तापक्रम विगत एक दशकयताकै उच्च रेकर्ड गरिएको छ । गत मे १४ देखि ३० डिग्री माथि रहेको काठमाण्डौको तापक्रम मे २५ मा ३४ दशमलव ४ डिग्री सेल्सियस मापन गरियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् २०१५ मा काठमाडौको तापक्रम ३४ दशमलव ६ डीग्री सेल्सीयस पुगेको थियो भने सवै भन्दा बढी सन् १९८९ को मे महिनामा ३६ दशमलव ६ डिग्री मापन भएको थियो ।

बुधबार अपराह्न यो समाचार तयार पार्दासम्म नेपालगञ्जको तापक्रम ४३ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा चिनिन्छ । त्यस्तै धनगढीको तापक्रम ४१ दशमलव ८ डिग्री पुग्यो ।

यता काठमाडौँको अधिकतम तापक्रम भने ३३ दशमलव २ डिग्री मापन गरिएको छ । रेकर्ड गरिएको तापक्रमले भन्छ- धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर राजधानीबासीलाई गर्मीले अत्याएको छ । झन् त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला ? काठमाण्डौमा त्यसै आत्तिएको होइन पनि ।

तथ्य तथ्याङ्कले नै काठमाडौंमा उखरमाउलो गर्मी बढ्दै गएको पुष्टि गर्दछ । काठमाडौको तापक्रम विगत १० वर्ष यताकै सवैभन्दा उच्च रहेको छ । विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।

तर सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । जलवायु परिवर्तनको असरले पृथ्वी तात्दै जाँदा नेपालमा समेत तापक्रम बढिरहेको विज्ञहरुको भनाइ छ ।

समुन्द्री सतहको तापक्रममा फेरबदल भएकाले नेपाललगायत एसिया प्रशान्त क्षेत्रमा औसतभन्दा बढी तापक्रम र बढी वर्षा हुने क्रम बढिरहेको जलवायु बिज्ञहरु बताउँछन् । मौसमविदहरुले पनि जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मी बढेको बताएका छन् ।

यो वर्ष मौसमविद्हरुले पूर्व अनुमान गरेभन्दा अगाडी नेपालको कोशी प्रदेशको पूर्वि भुभागबाट मनशुन भित्रिएर त्यस ठाउँमा केहि वर्षा भएता पनि देशैभर मनसुन सक्रिय हुन अझै करिब १० दिन लाग्ने छ ।

काठमाडौ उपत्यकामा पनि अझै केहि दिन पानी नपर्ने र तापक्रम पनि नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराइका जिल्लाहरुमा केहि दिन सम्म अझै तातो हावा चल्ने मौसमविद्हरुले बताएका छन् । देशैभर तत्काल ठूलो बर्षाको सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.