अनलाइनबाट बीउबिजन प्रमाणीकरण

चितवन- अनलाइन प्रणालीबाट बीउबिजन प्रमाणीकरण हुन थालेपछि यहाँका बीउ उत्पादक किसानलाई सहज भएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विकास निर्देशनालय बीउबिजन प्रयोगशाला हेटौँडाअन्तर्गत रहेको प्रयोगशालाले अनलाइन प्रणालीबाट प्रमाणीकरणको प्रक्रिया सुरु गर्न थालेपछि किसानलाई विभिन्न प्रक्रियामा सहज भएको हो ।

प्रयोगशालाका प्रमुख राजन ढकालले अनलाइन सूचना प्रणालीको विकास गरेपछि कृषक कार्यालय नै आउनुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले प्रयोगशालामार्फत बीउबिजनको गुणस्तर नियमन खाद्य बाली निरीक्षण, नमूना सङ्कलन, नमूनाको प्रयोगशाला परीक्षण र बीउ प्रमाणीकरणलगायतका काम हुने बताउनुभयो । उहाँले यी विभिन्न प्रक्रियाका लागि किसानले घरबाटै अनलाइन फारम भरेर काम अगाडि बढाउन सक्ने बताउनुभयो ।

उहाँका अनुसार अनलाइनमार्फत सम्पर्क नम्बर र ठेगानाबाट नै कार्यालयले बीउ उत्पादकलाई सम्पर्क गर्छ । प्रणालीमार्फत प्रतिवेदन पनि तयार हुन्छ । उहाँले भन्नुभयो, “किसान कार्यालयसम्म आउनु पर्दैन र हामीलाई फिल्डमा जान पनि थप सहज हुन्छ”, उहाँले कुनै पनि बाली उत्पादन वृद्धिका लागि गुणस्तरयुक्त बीउको ठूलो भूमिका रहने बताउनुभयो ।

भरतपुर महानगरपालिका–१४ पटिहानीका हिसान एवं उन्नत बिज वृद्धि कृषक समूहका अध्यक्ष उमनाथ पौडेलले किसानका लागि सरकारी स्तरबाट दिइएको अहिलेसम्मकै राम्रो सेवा अनलाइन प्रणाली भएको बताउनुभयो । पहिले हातले भरेर आँफै उपस्थित भई बुझाउनुपर्ने फारम अहिले अनलाइनबाट हुँदा निकै सहज भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बीउका प्रतिवेदन र रिपोर्ट यहीँबाट भरेर पठाउँछौँ, हेटौँडासम्म पुग्नु पर्दैन, यो समयको बचत र प्रविधिको उच्चतम प्रयोग हो ।” उहाँले अनलाइनमा फारम भर्नका लागि पहिले प्रयोगशालाका कर्मचारीले सिकाएको र आजकाल आफूहरुले नै भरेर पठाउने गरेको तथा त्यसपछि प्रयोगशालाका कर्मचारी फिल्ड रिपोर्टका लागि मात्र आउने बताउनुभयो ।

उहाँको कृषक समूहबाट विगत दुई दशकयता वार्षिक १२ देखि १३ सय मेट्रिक टनसम्म धान, मकै, गहुँ र तोरीलगायतका बीउ उत्पादन हुन्छ । उहाँ भन्नुहुन्छ, “आजकालको अनलाइन प्रणालीले काम गर्न र बीउ बिक्री वितरणमा निकै सजिलो भएको छ ।”

भरतपुर–२१ मा रहेको साइपाल बिज वृद्धि कम्पनी प्रालिका पुण्यप्रसाद अधिकारीले आफूहरुले सुरुआती चरणदेखि नै यो सेवा लिँदै आएको बताउनुभयो । उहाँले अनलाइन सफ्टवेयर प्रणाली निकै प्रभावकारी भएको जनाउँदै बीउमात्र नभएर कृषकले उत्पादन गरेका हरेक उपज यसैगरी अनलाइन प्रणालीबाट प्रमाणीकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।

वार्षिक दुई सय ५० मेट्रिक टन विभिन्न बीउ उत्पादन गर्ने उहाँको कम्पनीले देशका विभिन्न जिल्लामा बीउ पठाउँदै आएको छ । उहाँले भन्नुभयो, “प्रयोगशालामा परीक्षणका लागि हामिले मोबाइलबाटै पनि फारम भरेर पठाउन सकिन्छ, अनलाइनमा विकल्प राखेको हुँदा टाइप गरिरहनु पर्दैन, सामान्य मोबाइल चलाउने किसानले पनि यो कुरा गर्न सक्दछन् ।”

यो सेवा सुरु भएपछि चिठ्ठी बोकेर हेटौँडा कार्यालयसम्म धाउन नपरेको उहाँको भनाइ छ । उहाँले खुसी हुँदै भन्नुभयो, “पहिले खेती तथा बीउ नमूना परीक्षण गराउनका लागि प्रयोगशाला कार्यालयमा धाउने र सम्पर्क गर्दैमा समय जान्थ्यो, तर आजकाल उता कार्यालयबाटै बीउ निरीक्षण गर्न आउँदैछौँ भन्ने खबर आउँछ यो सुन्दा निकै खुसी लाग्छ ।”

विगत दुई वर्षयता सञ्चालनमा रहेको यस अनलाइन सेवा प्रणालीमा हालसम्म विभिन्न एक सय ७३ निजी, सहकारी र सरकारी बीउ उत्पादक जोडिएको प्रमुख ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित सेवाग्राही ८२ वटा हुनुुहुन्छ ।” उन्नत जातका बीउको गुणस्तर कायम राख्न प्रत्येक वर्ष प्रमाणीकरणको आवश्यकता रहेको उहाँको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.