सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी, ३२ जेष्ठ- बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०६४÷६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो”, उहाँले भन्नुभयो “आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौँ ।”

चालु आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र बेनी नगरपालिकाले रु ३० लाख विनियोजन गरेको रकमबाट महारानीथान–छापा–डाँडाखेत सडक स्तरोन्नति भएको हो । यो सडकको चार सय मिटर नाली निर्माण चार सय ५२ मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय ३० मिटर ढलान भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले राससलाई जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगरप्रमुख सुरत केसीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.