नेपाल समाजवादीका देवकोटालाई माओवादी केन्द्रको कारवाही !

काठमाडौँ- नेपाल समाजवादी पार्टीका नेता एवम् गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटालाई माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले दल त्यागको कारवाही गरेको छ ।

माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएको भन्दै उहाँमाथि कारवाही गरिएको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले जनाएको छ ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले उहाँमाथि कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख कृष्ण प्रसाद धितालले आज बसेको प्रदेश सभा बैठकमा उक्त पत्र पढेर सुनाउनु भएको हो ।

“२०७९ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ अन्तर्गत गण्डकी प्रदेश गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को एकल चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा तथा दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको दलका उम्मेदवारको आधिकारिक पत्र प्राप्त गरी निर्वाचनमा उम्मेदवार भई माननीय फणीन्द्र देवकोटा निर्वाचत भई नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको सदस्य रहेकोमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा गण्डकी प्रदेश सभा नियमावली, २०८० बमोजिम निज गण्डकी प्रदेश सभाका सदस्य माननीय श्री फणीन्द्र देवकोटालाई प्रदेश सभा सदस्य पदबाट निष्कासन गरी दल त्याग गरेको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम प्राप्त हुन आएकाले सोही ऐनको दफा ३५ र गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम २०७ समेतको कानूनी व्यवस्था अनुसार सभा समक्ष जानकारी गराउँदछु।’ सभामुखले सभामा पढेर सुनाएको पत्रमा भनिएको छ ।

प्रदेश सभामा देवकोटामाथि दल त्यागको कारवाही गरिएको सूचना सभामुखले दिएसँगै देवाकोटाको सांसदपद पनि नरहने कानुनी ब्यवस्था छ ।

राजनीतिक दल सम्बन्धी ऐनले एउटै निर्वाचन चिह्नमा दुई वा दुई भन्दा बढी दलहरु संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दल मध्ये सवै भन्दा बढी सिट पाउने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने र निर्वाचित प्रतिनिधि पनि सोही दलको रहने ब्यवस्थ गरेको छ ।  यही ब्यवस्था अनुसार मा‌ओवादी केन्द्रले देवकोटा आफ्नो संसदीय दलको सदस्य रहेको भन्दै देवकोटा माथि  कारवाही गरेको हो ।

गोरखा–२ बाट प्रदेशसभामा निर्वाचित हुनु भएका देवकोटा  डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट उमेदवार रही तत्कालीन गठबन्धनमा आबद्ध माओवादी केन्द्रको हँसिया हथौडाबाट चुनाव जित्नु भएहो थियो ।

कारवाहीमा पर्नु भएका देवकोटाले भने आफु नेपाल समाजवादीको पार्टीको रहेको भन्दै आफुलाई दल त्यागको कारवाही गर्ने अधिकार आफ्नो दललाई मात्र हुने, माओवादी केन्द्रले कारवाही गर्न नमिल्ने बताउनु भएको छ ।  देवकोटाले आफुमाथिको कारवाही कानुन विपरित रहेकाले कानुनी उपाचारमा जाने बताउनु भएको छ ।

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.