बेनी–दरबाङ सडकखण्डको सिम–पानाबगर खण्डमा कालोपत्रे

म्याग्दी– पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने सिम–पानाबगर खण्डमा कालोपत्रे भएको छ । सिमदेखि पानाबगरसम्म ३ किलोमिटर ८ सय मिटर दूरीको सडकमा हालै कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
आठ मिटरको फराकिलो चौडाइमा पक्की नालीसहित पर्खाल निर्माण गरी सिम–पानाबगर सडकखण्डमा डिबिएसडी प्रविधिको कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर रबिन चोखालले बताउनुभयो । २०७८ साल पुस १८ गते अमर ओमबुद्ध जेभीले कुल १० करोड ७० लाख २१ हजार तीनसय २५ रुपैयाँको लागतमा पूर्वाधार विकास कार्यालयसँग सडक कालोपत्रे गर्न सम्झौता गरेको थियो ।
आउँदो असार ७ गते कालोपत्रे गरिसक्नुपर्नेे सडकमा गएको जेठ १८ गतेदेखि कालोपत्रेको काम सुरु गरिएको थियो । हालसम्म सिम–पानाबगर खण्डको केही ठाउँमा ढलान, सडकमा रङरोगन, किलोमिटर पोष्ट र ट्राफिक साईन पोष्ट गाड्नेबाहेक ९० प्रतिशत काम सकिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँले सडक स्तरोन्नति र कालोपत्रे गर्ने क्रममा कार्यालयको तर्फदेखि नियमित रुपमा गुणस्तर परीक्षण, सुपरभिजन र अनुगमन गर्ने गरिएको बताउनुभयो ।
कालोपत्रे गरिएको सिम–पानाबगर सडकको वित्तीय प्रगति भने ७५ प्रतिशत भएको छ । निर्माण कम्पनी अमर ओमबुद्ध जेभीका प्रतिनिधि डम्बर सापकोटाले पोखरादेखि हेभी इक्वीपमेन्ट ल्याएर सडक कालोपत्रे गरिएको बताउनुभयो । उहाँले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्यमा सरोकारवाला निकाय, जनप्रतिनिधि, स्थानीयवासी र सम्बन्धित कार्यालयसहित सबै क्षेत्रबाट प्राप्त सहयोगले समयमै सडक कालोपत्रे सकिएको जानकारी दिनुभयो । यसअघि म्याग्दीको बेनीदेखि साढे १२ किलोमिटरको दूरीमा मंगला–२, सिमसम्म मात्र कालोपत्रे गरिएको सडकमा अहिले पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति र कालोपत्र गरी पानाबगरसम्म पु¥याएको छ ।
सडक कालोपत्रेपछि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट म्याग्दी सदरमुकाम बेनी आउने डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । सडक कालोपत्रे भएपछि यात्रा सहज हुनुका साथै दुग्धजन्य पदार्थ, तरकारीलगायत स्थानीय कृषि उत्पादन बजार पु¥याउन किसानलाई राहत मिलेको छ । सडक कालोपत्रेसँगै स्थानीयवासीले बाबियाचौरदेखि बेनीसम्मको भाडादर समेत समायोजन गर्नुपर्ने माग गरेका छन् । लामो समयको पर्खाइपछि सडक कालोपत्रे भएकाले आवतजावत सहज बनेको स्थानीय राजेन्द्र आचार्यले अनुभव सुनाउनुभयो ।
वि.सं. २०६१ सालमा ट्र¥याक खुलेको २० वर्षपछि बाबियाचौर क्षेत्रमा सडक स्तरोन्नति र कालोपत्रे गरिएको हो । म्याग्दी सदरमुकाम बेनीबजारदेखि दरबाङसम्म कुल २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडक म्याग्दीको पश्चिम भेगअन्तर्गत पर्ने मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जोड्ने एकमात्र सडकको रुपमा रहेको छ । पानाबगरदेखि अगाडि दरबाङसम्मको सडक भने स्तरोन्नतिको क्रममा रहेपनि ढिलाई भैरहेको छ ।
पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक म्याग्दीको रणनीतिक महत्वको सडकका रुपमा मानिन्छ । बागलुङ–बुर्तिबाङ भएर रुकुम पुग्ने मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा पनि म्याग्दीको बेनी–दरबाङ सडकलाई लिने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.