बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नति सुरु

म्याग्दी- कालीगण्डकी करिडोरअन्तर्गत रहेको निर्माणाधीन बेनी-जोमसोम-कोरला सडकखण्डको म्याग्दी खण्डमा पर्ने तिप्ल्याङ क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

तिप्ल्याङ बजारका स्थानीयलाई मुआब्जा दिएर घर, टहरा भत्काएपछि अहिले सडक स्तरोन्नतिको काम भैरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलास्थित तिप्ल्याङ बजार क्षेत्रमा शर्मा युनाईटेड जेभीमार्फत सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ । सडकको दुवैतर्फ नाली निर्माण गर्नुका साथै सडकलाई फराकिलो बनाउनेलगायत सडक स्तरोन्नतिको काम भैरहेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी-जोमसोम-कोरला सडकखण्डको म्याग्दी खण्ड तिप्ल्याङको ५ सय मिटर बजार क्षेत्रमा अहिले सडक विस्तार तथा स्तरोन्नतिको काम भैरहेको छ ।

सडकको दुवैतर्फ नाली निर्माण गरी १२ दशमलव ५ मिटरको फराकिलो सडक बनाउन लागिएको छ । २०७४ साल जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने गलेश्वरदेखि तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ ।

गलेश्वर-तातोपानी खण्डको कुल लागत ६२ करोड ४४ लाख रुपैयाँ रहेको छ । पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्म २ सय २ किलोमिटरको दूरीमा बेनी-जोमसोम-कोरला सडक योजनामार्फत विभिन्न प्याकेजमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भैरहेको सूचना अधिकारी चापागार्इँले बताउनुभयो ।

छिमेकी मुलुक उत्तरी चीन र दक्षिणको भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडक सबैभन्दा छोटो दूरीको मानिन्छ । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकको समग्रमा हालसम्म कुल ८० प्रतिशत प्रगति भएको छ ।

सडक योजनाअन्तर्गत विभिन्न ठाउँमा पक्की पुलको समेत निर्माण भैरहेको छ । बेनी–जोमसोम–कोरला सडक पूर्वाधार निर्माणसँगै आर्थिक विकास र पर्यटनको हिसाबले महत्वपूर्ण देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.