जलवायु परिवर्तनले मुलुकभित्र पारेको असरको अन्तर्राष्ट्रियकरणमा सहयोग

काठमाडौँ- जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै र सामाजिक न्यायको कुरा गर्दा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने सन्देश प्रवाह गर्दै राष्ट्रपति रामचन्द्र पौडेल भोलि स्वदेश फर्कदै हुनुहुन्छ ।

स्वीटजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्वोधन गरी राष्ट्रपति पौडेल जर्मनी हुँदै स्वदेश फर्कन लाग्नुभएको हो । ILO को अन्तर्राष्ट्रिय मञ्चलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले एकातिर जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम चाँही भोग्नुपर्ने नेपालको समस्याको अन्तर्राष्ट्रियकरण गर्नुभयो भने अर्कोतिर जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्न आह्वान गर्नुभयो ।

अधिक मात्रामा हरित ग्यास उत्सर्जन गर्ने मुलुकहरूलाई लक्षित गर्दै राष्ट्रपतिले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको दृष्टान्त प्रस्तुत गर्नुभयो । राष्ट्र प्रमुखले विश्व मञ्चबाट दिएको सन्देशले नेपालको पहिचान र समस्या उजागर मात्र गरेको छैन,जलवायु परिवर्तनले मुलुकभित्र पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने अवसरका रूपमा पनि उत्तिकै सान्दर्भिक रहेको विश्लेषण गरिएको छ । राष्ट्रपति पौडेलले भ्रमणका क्रममा स्वीट्जरल्याण्डका राष्ट्रपति भिओला आमहर्डसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

करिव आधा शताव्दीदेखि नेपालको विकासमा निरन्तर सहयोग गरेको ठूलो दातृ राष्ट्र स्वीट्जरल्याण्डका राष्ट्रपति आमहर्डले नेपाललाई आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलबाट भएको स्विटजरल्यान्ड र जर्मनीको औपचारिक भ्रमणले दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा पनि महत्वपूर्ण योगदान पुगेको छ ।

बर्लिनमा राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ । त्यहाँका राष्ट्रपति डा फ्राङ्क–वाल्टर स्टाइनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ असार १ गते जर्मनी भ्रमणमा जानुभएको हो ।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा स्टाइनमेयरबीच सोमबार भएको द्विपक्षीय वार्तामा जर्मनी सरकारले खुलेर सहयोग गर्ने वचन दिनुले पनि नेपालप्रतिको जर्मनीको सद्भाव दर्शाएको छ ।

भ्रमणले नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध मात्र नभई सम्पूर्ण युरोपमा नै नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुगेको विश्वास गरिएको छ । त्यसैले राष्ट्रपति पौडेलको यो उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नवीकरण गरेको धेरैको बुझाइ छ ।

राष्ट्रपतिका परराष्ट्रमामिलाविज्ञ डा सुरेशचन्द्र चालिसेले नेपालबाट ३८ वर्षपछि भएको यो भ्रमणले द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।नेपालबाट जर्मनीमा राष्ट्रप्रमुखको तहमा सन् १९८६ पछि यो भ्रमण पहिलो पटक भएको हो ।

नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.