कविता- म मान्छे

म मान्छे
अहो, साथी, थाहा छ तिमीलाइ ?
एउटा मान्छेले के के गर्न सक्छ ?
ठुला-ठुला युद्धहरु जित्न सक्छ,
बेला बेला त्यहि मान्छे प्रणालीगत उत्पीडनमा पनि पर्नसक्छ:
मान्छे भएपछि झिना-मसिना जिन्दगीका व्यथाहरु हार्न सक्छ।
हारेर पनि जित्न सक्छ, जितेर पनि हार्न सक्छ।
हो, यस्तै दोहोरो क्षमता मान्छे संगै हुन्छ, असल र खराब प्रभाव पार्ने !
तैपनि सुख र सफलता हमेशा एउटै अवस्थामा नरहँन सक्छ।
जीवन बचाउने र अनुसन्धान, आविष्कार गर्ने क्षमता मान्छे संगै हुन्छ
मलाइ थाहा छ, एउटा मान्छेले ठूलो हिंसा पनि गर्न सक्छ,
एउटा मान्छेले अर्को मान्छे बेच्न सक्छ,
मानव तस्करी र शोषणलाई निरन्तरता दिन सक्छ,
मान्छे ठुलै कहलिए पनि जिन्दगीभर वेईमानीको भारी बोकेर हिँड्न सक्छ,
तैपनि मान्छेले नै शान्ति र परोपकार प्रवर्द्धन गर्न सक्छ,
जसले अरूलाइ सामाजिक न्यायमा संलग्न हुन प्रेरित गर्छ।
त्यसैले साथि, उ पनि तिमि जस्तै अर्को मान्छे हो,
उसको आत्माको आगो निभाउन नखोज,
कसैलाइ लत्याउन पनि नखोज!
जब आ-आफ्नो दिन आउँछ, केहि ठुला महत्वाकांक्षा लिएर
एका-बिहानै घरबाट हिँडेको उ हिँडेको-हिँड्यै गर्न सक्छ,
सम्झ: त्यहि मान्छेले अरु कसैलाइ नपत्याउन सक्छ,
उसको मन कहिल्यै नफर्कन पनि सक्छ।
तिमीले उसैको पर्खाइमा विश्वासको दियो बालिरहँदा
उ यो भव-सागरबाट मुक्त भइसक्न सक्छ।
जसको स्पर्श समेत नपाएर यो क्षणभंगुर संसारमा ,
धेरै मान्छेले हार्न पर्छ: तिमीले, मैले र सबैले ।
हो, सत्य यतै छ साथि: अभाव पछिको नियति झन् कठोर बन्छ।
आखिर, कल्पना गरिए जस्तो भविष्यलाइ यथार्थमा नभेटेपछि,
एकदिन सबैले आ-आफ्नो अतित सम्झंदै पछुतो मान्नैपर्छ,
समाजमा मान्छे गनिन यति कुरो जान्नैपर्छ।
लेखक:डा. काशिराज पाण्डे
प्रतिक्रिया राख्नुहोस्