नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा दुई अन्तर्राष्ट्रिय विमान स्थल  

काठमाडौँ- काठमाडौं स्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढिरहँदा विकल्पका रूपमा बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु नियमित सञ्चालनमा ल्याउन सकिएको छैन ।

अर्बौं ऋण लगानी जुटाएर बनाइएको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  र पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटनको लामो समय वित्दा पनि ठोस योजना ल्याएर नियमित सञ्चालन गर्न सकिएको छैन ।

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष नाघेको छ । पोखरामा अर्को विमानस्थल बनाएर उद्घाटन गरिएको करिब डेढ वर्ष भएको छ । सरकारले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखेर ऋण लगानीमा बनाएको थियो । तर उद्घाटनको यति समय बितिसक्दा गौतम बुद्धबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुन सकेको छ, पोखराबाट चार्टर्डबाहेक व्यावसायिक उडान छैन । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र आसपास क्षेत्रलाई लक्ष्य गरेर थप दुइटा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो ।

३५ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा निर्मित भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवाती दिनमा जजिरा एयरलाइन्सले सातामा तीन दिन उडान गरेको थियो । पछि हिउँदमा ‘भिजिबिलिटी’ को समस्या देखाएर उडान रोक्यो । विमानस्थलमा उपकरणको मद्दतबाट विमान अवतरण गर्ने प्रणाली ‘आईएलएस’ जडान भए पनि भारतले सञ्चालनको अनुमति दिएको छैन । यस्तै, सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु थपका लागि भारतसँग राखिएको प्रस्ताव स्वीकृत भएको छैन ।

भैरहवाका लागि सिमरा हुँदै प्रवेश गर्दा दूरी लम्बिने हुनाले उडान खर्च महँगिन्छ । अहिले नेपाल एयरलाइन्सले मात्र मलेसियाको क्वालालम्पुरबाट सातामा एक दिन ‘कनेक्टिङ’ उडान गरिरहेको छ । नेपाल नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता हंसराज पाण्डे  भने नेपालमा विमान अभाव भएको र विदेशी विमानहरु काठमाण्डौ  बाहेक अन्त ल्याण्ड गर्न नमान्ने गरेको बताउनुहुन्छ ।विदेशी वायु सेवा कम्पनीलाई पनि आकर्षित कसरी गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको प्राधिकरणका प्रवक्ता पाण्डेको भनाइ छ । विमानस्थल सेवा शुल्क नियमावली बमोजिमका गर्नुपर्ने  छुटहरू दिइरहेको र अरु पनि विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । यसैगरी यी  दुइ विमान स्थलको अध्ययन गरी सुझाव दिन  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिति गठन गरेको र करिब १ हप्ताभित्र समितिले सुझाव दिएपछि अगाडि बढ्नै प्रवक्ता पाण्डेले बताउनुभयो ।

सञ्चालनका लागि कुनै योजना नबनाई विमानस्थल थप्दा अवस्था के हुन सक्छ भन्ने पाठ सरकारले गौतम बुद्ध र पोखराको विमानस्थलबाट सिक्नुपर्छ ।

बनिसकेका यी दुवै विमानस्थल सञ्चालनका लागि सरकारले अविलम्ब योजना बनाउनुपर्छ । अन्तर्राष्ट्रिय उडान हुँदा चाहिने पर्यटन, श्रम, अर्थ, गृह र रक्षा मन्त्रालयअन्तर्गतका सम्बन्धित एकाइ स्थापना र सञ्चालन तत्काल जरुरी छ ।

एयरलाइन्सहरूलाई अन्तर्राष्ट्रिय उडानमा प्रोत्साहन गर्ने कार्यक्रम सुरुवाती दिनमा चाहिन्छ । अन्तर्राष्ट्रिय उडानको असहजता हटाउन भिजिबिलिटीको समस्या निराकरण र भारतीय आकाशबाट हुने प्रवेश बिन्दु थपका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने सुझाव विज्ञको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.