मेलम्ची खानेपानी निरन्तर वितरण हुने

काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको जनाएको छ ।

शुक्रबार देखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिर आइरहँदा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको जानकारी दिनुभयो ।

खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तीलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुनेहुँदा तत्काल मेलम्चीको मूलद्वार बन्द नहुने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

मनसुन अवधिमा विपत्तिको जोखिम बढ्नेहुँदा २४ सै घण्टा कर्मचारी हाइअलर्ट खटाइएको बताउँदै उहाँले पानीको बहाव बढ्ने वित्तिकै जतिबेला पनि मूलद्धारलाई बन्द गरिने बताउनुभयो ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि बर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ ।

गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू-भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो ।

मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.