लुम्बिनीमा दर्ता भयो पहिलो पटक संकल्प प्रस्ताव

दाङ- लुम्बिनी प्रदेशमा पहिलो पटक संकल्प प्रस्ताव दर्ता भएको छ । प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाबारे पहिलो पटक संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

नेपाली कांग्रेसका सचेतक निमा गिरी प्रस्तावक, नेकपा माओवादी केन्द्रका सचेतक कृष्णा कुश्मा थारु र जसपा नेपालका प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहेको संकल्प प्रस्ताव शुक्रबार प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरेर सभामुख तुलाराम घर्तीमगरलाई बुझाइएको छ । संकल्प प्रस्ताव सदनमा पेश हुने र त्यहाँ छलफल गरेर संकल्प प्रस्ताव माथी निर्णय गरिने प्रदेश सभा नियमावलीमा उल्लेख छ ।

२०७७ देखि २०७९-२०८० त्रीबर्षिय सवारी दुर्घटना विवरण अनुसार लुम्बिनी प्रदेशमा एक हजार पाँचसय ३९ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच घाईते भएका छन् । एक बर्षमा मात्रै तीन सय ६७ जनाको मृत्यु भएको छ भने सात सय ७९ जना गम्भीर घाइते भएको तथ्यांकमा उल्लेख छ ।

सड़क दुर्घटना पश्चात समयमै उपचार नपाउने, उपचार पाएपनि उपचार महंगो हुने र लामो समय उपचार गर्नुपर्ने, दुर्घटना पीडितले अत्यन्तै शारिरिक र मानसिक कष्ट पाउने, दुर्घटनाका पीडित र पीडितको परिवार सडक दुर्घटनाको कारण विक्षिप्त बन्ने अवस्था छ ।

दुर्घटनाका कारण र समयमै उपचार नपाउँदा व्यक्ति जीवनभर अपांगता भएर बस्नुपर्ने अवस्था समेत छ । लुम्बिनी प्रदेशभित्र सडक दुर्घनाका पीडितका लागि आकस्मिक उपचार, निःशुल्क उपचारको व्यवस्था र दुर्घटनाको द्रुतगतिमा उद्दारको लागि आवश्यक संयन्त्रको विकास तथा पीडितले आफ्नो जीवनयापन सहज तरिकाले बाँच्न सक्ने गरी क्षतिपूर्तिको व्यवस्था समेत हुनुपर्ने माग राख्दै संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.