चिनियाँ उपविदेशमन्त्री नेपालको भ्रमणमा

काठमाडौँ- जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज बिहान यहाँ आइपुग्नुभएको छ ।

उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गर्नुभयो । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनुहुनेछ । भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.