आँप मेलामा ३२ हजार किलो आँप बिक्री

काठमाडौं – नेपालमा पहिलोपटक आयोजना गरिएकाे आँप मेलामा ३२ हजार किलो आँप बिक्री भएकाे छ ।
किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो । मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र ३२ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । मेलामा सर्लाही, सप्तरी, र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू प्रदर्शनीमा राखिएका थिए ।

आँपको अचार बनाउने, प्रशोधन गर्ने प्रविधि पनि मेलामा राखिएका थिए जसमा प्रख्यात शेफ सन्तोष शाहसहित विभिन्न सेफहरुले पाउडर, स्टिकी राइस, आँप स्मृदि, सुख्खा आँप क्रस जस्ता ५० भन्दा बढी आँपबाट बन्ने उत्पादनहरु प्रदर्शन गरी आफ्नो पाक कौशल प्रस्तुत गरेका थिए ।
नेपालमै विभिन्न प्रजातिका आँप पाइने भएता पनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रचलन बढाउन, किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पु¥याउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘पहिलो आँप मेला भव्यताका साथ सम्पन्न भयो । आगामी वर्ष यो भन्दा उत्कृष्ट मेलाको आयोजना गर्नेछौँ । जहाँ अहिलेभन्दा बढी किसानसँग समन्वय गरी धेरै सहरमा धेरै भेराइटी, सेल्स काउन्टर र रमाइला कार्यक्रमहरु आयोजना हुनेछन्,’ आयोजक किसान भेन्चरका सीईओ राजेश कार्कीले बताउनुभयाे । आगामी वर्ष १०० टन आँप मेलामा बिक्री गर्ने लक्ष्य राखिएको कार्कीले बताउनुभयाे ।
आँप मेलाको सफलतासँगै यसै वर्ष स्याउ, सुन्तला, जुनार र टिमुरको मेला पनि आयोजना गर्ने आयोजक तयारी रहेकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.